नेभिगेशन
न्यू साउथ वेल्स

एआईदेखि विश्वव्यापी उद्यमशीलतासम्म : सिड्नीमा नेपाली युवाको अन्तर्राष्ट्रिय सम्मेलन

सिड्नी। कृत्रिम बुद्धिमत्ता (एआई) र प्रविधिले विश्वव्यापी अर्थतन्त्र तथा उद्यमशीलताको स्वरूप तीव्र रूपमा परिवर्तन गरिरहेका बेला विश्वभरका नेपाली युवा उद्यमी, लगानीकर्ता, नवप्रवर्तक र व्यवसायिक नेतृत्व सिड्नीमा भेला हुने भएका छन्।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) को अन्तर्राष्ट्रिय कार्यसमिति (आईईसी) को आयोजनामा  जुलाई २४ र २५ ( शुक्रबार  र  शनिबार) मा सिड्नीस्थित सोफिटेल सिड्नी वेन्टवर्थमा ‘इन्टरनेसनल युथ इन्टरप्रेन्योर्स समिट (आई–येस) २०२६’ आयोजना हुने भएको हो। सम्मेलनको सञ्चालन तथा व्यवस्थापन फिने अस्ट्रेलियाले गर्नेछ।

आयोजकका अनुसार सम्मेलनमा २० देशका ७ सयभन्दा बढी नेपाली युवा उद्यमी सहभागी हुने अपेक्षा गरिएको छ। एआई, प्रविधि, नवप्रवर्तन, स्टार्टअप, लगानी, नेतृत्व, वित्तीय प्रविधि, नीति तथा विश्वव्यापी व्यावसायिक सहकार्य सम्मेलनका प्रमुख विषय रहनेछन्।

प्रेस भेटघाटमा कार्यक्रमबारे विस्तृत जानकारी

सम्मेलनबारे जानकारी दिन हिजो आयोजित प्रेस भेटघाटमा फिने अस्ट्रेलियाकी अध्यक्ष सुजाता चालिसेले कार्यक्रमको उद्देश्य, तयारी र मुख्य आकर्षणबारे विस्तृत जानकारी दिइन्।

चालिसेका अनुसार आई–येस २०२६ लाई विश्वभर रहेका नेपाली युवा उद्यमी, व्यवसायी, लगानीकर्ता, नवप्रवर्तक तथा नीति निर्मातालाई एउटै अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। एआई र प्रविधिको तीव्र विकाससँगै बदलिँदो विश्वव्यापी व्यावसायिक वातावरणमा नेपाली युवाका लागि सिर्जना भइरहेका अवसरबारे सम्मेलनमा गहन छलफल हुने उनले बताइन्।

उनले सम्मेलनलाई केवल औपचारिक भेटघाटमा सीमित नगरी ज्ञान आदान–प्रदान, व्यवसायिक सहकार्य, लगानीका अवसर, अन्तर्राष्ट्रिय नेटवर्क विस्तार र नेपाली युवाको उद्यमशील क्षमतालाई विश्व बजारसँग जोड्ने मञ्चका रूपमा विकास गर्न खोजिएको जानकारी दिइन्।

एआईदेखि विश्वव्यापी उद्यमशीलतासम्म

सम्मेलनमा नेपाल र अस्ट्रेलियाका सरकारी, वित्तीय तथा निजी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, प्रतिनिधिसभा सदस्य सुशील खड्का, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट, महालेखा नियन्त्रक शोभाकान्त पौडेल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, बैंकर तथा लिड नेपाल एनआईसीका अध्यक्ष अनिल केशरी शाह, आइडिया स्टुडियोका संस्थापक छिरिङ लामा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डे, डेटा वैज्ञानिक भोजराज घिमिरे तथा युवा वैज्ञानिक रामलक्ष्मण रिमाललगायतको सहभागिता रहनेछ।

सम्मेलनलाई अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै, अस्ट्रेलियाका वित्तमन्त्री तथा साना तथा मझौला उद्यमसम्बन्धी मन्त्रीसहित ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले विभिन्न विषयमा आफ्ना अनुभव र विचार प्रस्तुत गर्नेछन्।

सम्मेलनको पहिलो दिन उद्यमशीलता, व्यवसाय वृद्धि, लगानी तथा एआई र डिजिटल मार्केटिङमा केन्द्रित हुनेछ। कार्यक्रममा उद्घाटन समारोहपछि अस्ट्रेलियाको आर्थिक अवस्था र उद्यमशीलताका अवसरबारे मुख्य सम्बोधन हुनेछ।

त्यसपछि ‘थ्राइभिङ अन्डर ३०’, ‘लिडिङ थ्रु फिडब्याक’, ‘स्टार्टिङ स्मल, थिङ्किङ बिग’, ‘फ्रम आइडियाज टु इम्प्याक्ट’, ‘बियोन्ड रेमिट्यान्स’, ‘इनोभेसन इन एक्सन’, ‘द एआई–पावर्ड ग्रोथ इन्जिन’, ‘बिल्डिङ नेपाल्स टेक फ्युचर’ तथा ‘एआई एन्ड डिजिटल मार्केटिङ’ लगायतका सत्र सञ्चालन हुनेछन्।

दोस्रो दिन नेतृत्व, फिनटेक, डिजिटल ट्रस्ट, उत्पादन, वित्तीय पहुँच, नीति, सुशासन तथा विश्वव्यापी सहकार्यमा केन्द्रित कार्यक्रम हुनेछन्। **‘पिच एरेना’**मार्फत सहभागी स्टार्टअप तथा उद्यमीहरूले आफ्ना व्यवसायिक अवधारणा प्रस्तुत गर्नेछन्।

त्यसैगरी, ‘वुमन अन द फ्रन्टलाइन’, ‘फिनटेक फ्रन्टियर–डिजिटल ट्रस्ट’, ‘क्यापिटल इन द डिजिटल एज’, ‘द वर्ल्ड्स म्यानुफ्याक्चरिङ पावरहाउस’, ‘नेक्स्ट जेनेरेसन बिजनेस लिडरसिप’ तथा ‘पोलिसी, गभर्नेन्स एन्ड ग्लोबल अफेयर्स’ लगायतका सत्रमा विज्ञ तथा व्यवसायिक नेतृत्वबीच छलफल हुनेछ।

३५ लाख रुपैयाँको एआई स्टार्टअप प्रतियोगिता

सम्मेलनको विशेष आकर्षणका रूपमा ३५ लाख रुपैयाँ बराबरको एआई स्टार्टअप प्रतियोगिता आयोजना गरिने भएको छ। नेपाली युवामा प्रविधि तथा नवप्रवर्तनमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन नेपाली स्वामित्वमा रहेको एआईमा आधारित कम्पनी हुनुपर्ने पहिलो मापदण्ड तोकिएको छ। प्रतियोगिताले नेपाली स्टार्टअपलाई लगानी, अन्तर्राष्ट्रिय बजार तथा सम्भावित साझेदारसँग जोड्ने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।IMG_6381-1784797056.jpeg

फिनेका प्रवक्ता दिक्पाल देव पंगेनीका अनुसार आई–येस २०२६ दुईदिने सम्मेलनमा मात्र सीमित नभई विश्वभर रहेका नेपाली युवा उद्यमी, लगानीकर्ता, नीति निर्माता र व्यवसायिक नेतृत्वलाई एउटै अन्तर्राष्ट्रिय सञ्जालमा जोड्ने उद्देश्यसहित आयोजना गर्न लागिएको हो।

एआई र प्रविधिको तीव्र विकाससँगै नेपाली युवालाई विश्वव्यापी अवसर, लगानी र सहकार्यसँग जोड्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको पंगेनीले बताए। उनका अनुसार नेपाली युवामा रहेको प्रतिभा, सिर्जनशीलता र उद्यमशील क्षमतालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ।

‘दुई दिन, अनन्त सम्भावना’ भन्ने अवधारणासहित आयोजना हुन लागेको सम्मेलनले ज्ञान आदान–प्रदान, लगानी, व्यवसायिक सहकार्य र अन्तर्राष्ट्रिय नेटवर्क विस्तारका लागि नयाँ अवसर सिर्जना गर्ने आयोजकको विश्वास छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्