सिड्नी। । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (FINYE) को आयोजनामा ‘इन्टरनेशनल–युथ इन्टरप्रेन्योर्स समिट (I-YES) २०२६’ आगामी जुलाई २४ र २५ ( शुक्रबार र शनिबार) अष्ट्रेलियाको सिड्नीस्थित सोफिटेल सिड्नी वेन्टवर्थ होटलमा आयोजना हुने भएको छ। सम्मेलनको व्यवस्थापन फिनये अष्ट्रेलियाले गर्नेछ।
आयोजकका अनुसार सम्मेलनले ‘Empowering the Next Generation: Innovation, Inclusion and Impact’ भन्ने मूल नारासहित विश्वभर रहेका नेपाली युवा उद्यमी, लगानीकर्ता, नीति निर्माता, व्यवसायिक नेतृत्व तथा पेशागत समुदायलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।
दुईदिने सम्मेलनमा ४ सयभन्दा बढी प्रतिनिधि, ३० भन्दा बढी वक्ता, अष्ट्रेलिया, नेपाल, अमेरिका तथा दक्षिण–पूर्वी एसियासहित विभिन्न मुलुकका सहभागीको उपस्थिति रहने जनाइएको छ। कार्यक्रममा प्रेरणादायी मुख्य वक्तव्य, विषयगत प्यानल छलफल, व्यवसाय–लगानी साझेदारी, अन्तर्राष्ट्रिय नेटवर्किङ तथा युवा उत्कृष्टताको सम्मानलगायतका कार्यक्रम समावेश हुनेछन्।
यस संस्करणको विशेष आकर्षणका रूपमा ‘ओभरसिज एआई स्टार्टअप च्यालेन्ज’ समेत समावेश गरिएको छ। उक्त प्रतिस्पर्धामार्फत नेपाली एआई–आधारित स्टार्टअपहरूले आफ्ना नवप्रवर्तन प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय लगानीकर्ता तथा उद्योग नेतृत्वसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ।
FINYE का प्रवक्ता दिक्पाल देव पंगेनीले ‘आई–येस २०२६’ केवल सम्मेलन मात्र नभई विश्वभर रहेका नेपाली युवा उद्यमी, लगानीकर्ता र नीति निर्माताबीच सहकार्य विस्तार गर्ने अन्तर्राष्ट्रिय मञ्चका रूपमा विकास भइरहेको बताए। उनका अनुसार सम्मेलनले ज्ञान, नवप्रवर्तन, लगानी र अन्तर्राष्ट्रिय साझेदारीलाई जोड्दै नेपाली युवाको उद्यमशीलतालाई विश्व बजारसँग जोड्ने लक्ष्य लिएको छ। साथै, यसले नयाँ पुस्ताका उद्यमीलाई विश्वव्यापी नेटवर्क निर्माण र लगानीका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार सम्मेलनले ज्ञान आदान–प्रदान, अन्तर्राष्ट्रिय व्यवसायिक सहकार्य, लगानी विस्तार तथा विश्वभर रहेका नेपाली युवा उद्यमीबीच दीर्घकालीन सञ्जाल निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। सम्मेलनका लागि टिकट बिक्री खुला भइसकेको छ।