नेभिगेशन
न्यू साउथ वेल्स

नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई  १९  तारिक आइतबार  हुने 

नेपाली फुटबल समुदायको गौरवमय उत्सवका लागि सम्पूर्ण तयारी पूरा

सिड्नी। अष्ट्रेलियामा रहेका नेपाली समुदायको खेलकुद जगतको बहुप्रतीक्षित महोत्सव नवाज कप २०२६ तथा नवाज भेट्रान्स कप २०२६ को ग्रान्ड फाइनल आगामी १९ जुलाई २०२६ (आइतबार) मा होरलिक रिजर्भ, साउथ ग्रानभिल (NSW) मा हुँदैछ। सात हप्तासम्म चलेको रोमाञ्चक प्रतिस्पर्धापछि अब उपाधिको अन्तिम भिडन्तका लागि उत्कृष्ट टोलीहरू मैदान उत्रँदैछन्।

खुला उमेर समूहको फाइनलमा बीएफसी (BFC) र एफएफसी (FFC) बीच दिउँसो १२:३० बजे उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। त्यस्तै, तेस्रो स्थानका लागि एएनएफसी (ANFC) र टीआरजी (TRG) बीच बिहान ८:३० बजे खेल हुनेछ। भेट्रान्सतर्फको उपाधि भिडन्तमा एमएनएफसी (रेड) र एसजीएनसी बिहान १०:१० बजे आमनेसामने हुनेछन्।

फुटबल प्रतियोगिताभन्दा पनि नेपाली समुदायबीचको आपसी सद्भाव, एकता र सम्बन्धलाई अझ सुदृढ बनाउने साझा अभियानका रूपमा स्थापित नवाज कपले वर्षेनी अष्ट्रेलियास्थित नेपाली समुदायलाई एउटै मञ्चमा जोड्दै आएको छ। 
यस वर्षको ग्रान्ड फाइनलमा पनि हजारौं खेलप्रेमी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, व्यवसायी तथा परिवारसहितको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

नवाजका  अध्यक्ष चिरन तिवारीले ग्रान्ड फाइनल नेपाली समुदायको साझा उत्सव भएको उल्लेख गर्दै सबैलाई परिवारसहित उपस्थित हुन आग्रह गरेका छन्।

तिवारीले भने- नवाज कप केवल उपाधिका लागि खेलिने प्रतियोगिता मात्र होइन, यो अष्ट्रेलियामा रहेका नेपालीहरूको एकता, मित्रता र सामुदायिक भावनाको उत्सव हो। खेलले हामीलाई जोड्ने माध्यम बनेको छ। यही भावनालाई अझ बलियो बनाउन हामीले प्रत्येक वर्ष यो प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउँदै आएका छौं। 

सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनी, युवा तथा परिवारलाई मैदानमा उपस्थित भई खेलाडीहरूको उत्साह बढाइदिन हार्दिक अनुरोध गर्दछु। तपाईंहरूको उपस्थितिले नै यो उत्सवलाई अझ अर्थपूर्ण र स्मरणीय बनाउने अध्यक्ष तिवारीले  बताएका  छन ।  

ग्रान्ड फाइनलमा प्रवेश निःशुल्क रहनेछ। दर्शकका लागि मोमो, सेलरोटी, मसला चिया लगायत नेपाली स्वादका परिकार उपलब्ध गराइनेछन् भने बालबालिकाका लागि मनोरञ्जनात्मक गतिविधिको साथै  किड्स सकर पनि हुनेछ। यसले खेलसँगै सम्पूर्ण परिवारले रमाइलो वातावरणमा दिन बिताउन सक्ने आयोजकको विश्वास छ। प्रतियोगिताको समापनसँगै विजेता तथा उपविजेता टोली, उत्कृष्ट खेलाडी र अन्य उत्कृष्ट प्रदर्शनकर्तालाई सम्मान तथा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ।

खेलकुदमार्फत नेपाली समुदायलाई अझ नजिक ल्याउने उद्देश्यका साथ सञ्चालन हुँदै आएको नवाज कप २०२६ को ग्रान्ड फाइनल यस वर्ष पनि अष्ट्रेलियास्थित नेपाली समुदायको सबैभन्दा ठूलो फुटबल उत्सवका रूपमा हेरिएको छ। प्रतिस्पर्धाको रोमाञ्च, नेपाली संस्कृतिको मिठास र समुदायको आत्मीयता एकै स्थानमा अनुभव गर्ने यो अवसरलाई नछुटाउन आयोजकले सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरेको  छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्