सिड्नी, अष्ट्रेलिया। नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान (NKSSP NSW) र एनआरएनए एनएसडब्लु (SCC-NSW) को संयुक्त आयोजनामा ११३औँ भानु जयन्ती विशेष समारोह आयोजना हुने भएको छ। कार्यक्रम, २७ जुन शनिबार अबर्न टाउनहल, अबर्नमा दिउँसो ३:३० बजेदेखि ७:३० बजेसम्म सञ्चालन हुनेछ।
आयोजक संस्थाका अनुसार भानु जयन्तीलाई केवल एक साहित्यिक दिवसका रूपमा नभई नेपाली भाषा, संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्ने अभियानका रूपमा मनाउन लागिएको हो। कार्यक्रममा आदिकवि भानुभक्त आचार्य को योगदानको स्मरण गर्दै साहित्यिक गोष्ठी, कविता वाचन, सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रम आयोजना गरिनेछ।
विशेष गरी नेपालका विभिन्न समुदायले बोल्ने मातृभाषाहरूलाई सम्मान गर्दै बहुभाषिक कविता वाचनको व्यवस्था गरिएको छ। यसले नेपाली समाजभित्र रहेको भाषिक तथा सांस्कृतिक विविधतालाई थप उजागर गर्ने विश्वास आयोजकको छ।
यस अवसरमा नेपाली भाषा, साहित्य, कला तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई “भानु पुरस्कार–२०२६” प्रदान गरी सम्मान गरिने कार्यक्रम रहेको छ। साथै NKSSP समूहद्वारा विशेष सांस्कृतिक तथा नृत्य प्रस्तुति समेत रहनेछ।
नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान (NKSSP NSW) की अध्यक्ष कल्याणी बर्तौलाले यस वर्षको भानु जयन्ती कार्यक्रमले साहित्यप्रेमी, कलाकार, बुद्धिजीवी तथा सम्पूर्ण नेपाली समुदायलाई एउटै मञ्चमा जोड्ने विश्वास लिएको बताइन् । उनले भनिन्,- “हामी भाषा, कला र संस्कृतिमार्फत नेपाली समुदायबीच एकता, अपनत्व र पहिचानको भावना बलियो बनाउन चाहन्छौँ।
NKSSP NSW का सचिव भुषण रोक्काले भानु जयन्तीले प्रवासमा नेपाली भाषा र साहित्यप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनका अनुसार कार्यक्रमले नेपाली समुदायबीच सांस्कृतिक एकता र पुस्तान्तरणको सेतुका रूपमा काम गरिरहेको छ।
“प्रवासमा जन्मिएका तथा हुर्किएका नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिसँग जोड्नु अहिलेको प्रमुख चुनौती हो। भानु जयन्ती जस्ता कार्यक्रमले उनीहरूलाई आफ्नो मौलिक पहिचान बुझ्ने अवसर प्रदान गर्छ,” रोक्काले भने।
आयोजक संस्थाले अष्ट्रेलियास्थित सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई आदिकवि भानुभक्त आचार्यप्रति सम्मान व्यक्त गर्न तथा नेपाली भाषा–साहित्यको प्रवर्द्धनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।
NKSSP NSW ले अष्ट्रेलियामा हरेक वर्ष भानु जयन्ती आयोजना गर्दै आएको छ।