डार्विन, अष्ट्रेलिया । अष्ट्रेलियाको उत्तरी सहर डार्विनमा जुन १३, शनिबार नेपाल फेस्टिभलको अर्को संस्करण भव्य रूपमा आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्दन टेरिटोरीको आयोजनामा हुने फेस्टिभलमा नर्दन टेरिटोरीकी मुख्यमन्त्री लिया फिनोचियारो प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।
फेस्टिभलको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए नर्दन टेरिटोरीका संयोजक त्रिलोचन सापकोटाले यस वर्षको कार्यक्रमलाई थप व्यवस्थित र आकर्षक बनाउन तयारी तीव्र पारिएको बताए। उनका अनुसार नेपाली दूतावास क्यानबेराले पनि फेस्टिभलमा स्टल राखेर आफूले उपलब्ध गराउँदै आएका विभिन्न सेवाबारे जानकारी दिनेछ। साथै, नेपाल पर्यटन बोर्डका तर्फबाट नेपाल भ्रमणसम्बन्धी प्रचार सामग्री तथा जानकारीमूलक ब्रोसर वितरण गरिनेछ।
डार्विनस्थित नेपाली समुदायको योगदानको सम्मानस्वरूप नर्दन टेरिटोरी सरकारले तीन वर्षका लागि २ लाख १० हजार अष्ट्रेलियन डलर आर्थिक सहयोग उपलब्ध गराएको छ। यही सहयोगका कारण अन्य अष्ट्रेलियाली राज्यहरूमा दुई–दुई वर्षमा आयोजना हुने नेपाल फेस्टिभल डार्विनमा भने हरेक वर्ष आयोजना हुँदै आएको आयोजकले जनाएको छ।
यस वर्षको फेस्टिभल करिब १ लाख ८० हजार अष्ट्रेलियन डलरको लागतमा सञ्चालन हुने अनुमान गरिएको छ। कार्यक्रममा नेपाली तथा स्थानीय अष्ट्रेलियाली व्यवसायीहरूको समेत उल्लेखनीय सहयोग रहेको बताइएको छ। संयोजक सापकोटाका अनुसार अष्ट्रेलियाका विभिन्न राज्यबाट ५० भन्दा बढी अतिथिहरू फेस्टिभलमा सहभागी हुन डार्विन आउने निश्चित भइसकेको छ।
पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए नर्दन टेरिटोरीका पूर्वसंयोजक सन्जीव गोर्खालीले नेपाल फेस्टिभल नेपाली समुदायलाई एकताबद्ध बनाउने तथा अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली पहिचानलाई सशक्त रूपमा स्थापित गर्ने प्रभावकारी माध्यम बनेको बताए। उनले नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धनमा फेस्टिभलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।
फेस्टिभल संयोजक निरज देवकोटाले कार्यक्रमको ९० प्रतिशतभन्दा बढी तयारी पूरा भइसकेको जानकारी दिए। उनले डार्विनसहित अष्ट्रेलियाका विभिन्न राज्यबाट आउने अतिथिहरूलाई स्वागत गर्न आयोजक टोली पूर्ण रूपमा तयार रहेको बताउँदै कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण समुदायलाई आग्रह गरे।
आयोजकका अनुसार यस वर्षको फेस्टिभलमा करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्काउने प्रदर्शनी, नेपाली खानाका परिकार, हस्तकला प्रदर्शनी, पर्यटन प्रवर्द्धन तथा विविध सांस्कृतिक कार्यक्रम समावेश गरिनेछन्।
फेस्टिभललाई थप आकर्षक बनाउन नेपालबाट चर्चित लोकगायक अर्जुन सापकोटा डार्विन आइपुगेका छन्। स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति तयारी पूरा गरिसकेका छन्। शनिबार मध्यान्हदेखि रातिसम्म सञ्चालन हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सांगीतिक मनोरञ्जन, विविध गतिविधि तथा भव्य आतिशबाजीको समेत व्यवस्था गरिएको छ।
आयोजकले नेपाल फेस्टिभलले नेपाली समुदायबीच एकता, सांस्कृतिक संरक्षण र अष्ट्रेलियाली समाजसँगको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। डार्विनको बहुसांस्कृतिक परिवेशमा नेपाली पहिचानलाई थप उजागर गर्ने उद्देश्यसहित आयोजना हुन लागेको फेस्टिभल यस वर्ष पनि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।