नेभिगेशन
न्यू साउथ वेल्स

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय एभरेष्ट डे भव्य रूपमा मनाइयो, सगरमाथा संरक्षणमा साझा प्रतिबद्धता

सिड्नी– फेडेरेशन अफ नेप्लिज कम्युनिटी एसोसिएसन (फेन्का) मा आबद्ध विभिन्न संस्थाहरूको आयोजनामा अन्तर्राष्ट्रिय एभरेष्ट डे तथा बाल चित्रकला प्रतियोगिता एवं प्रदर्शनी मे ३०, तारिक शनिबार न्यू साउथ वेल्सस्थित काबारिटा पार्कमा भव्य रूपमा सम्पन्न भएको छ।

‘पग्लँदैछ हिउँ, बढ्दैछ हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा प्रभातफेरी, सांस्कृतिक प्रस्तुति, बाल चित्रकला प्रतियोगिता तथा प्रदर्शनीलगायत विविध कार्यक्रम सम्पन्न भएका थिए। कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो।att.SI3Ibi40YNTEBqFH3lha159_Rsxb7hKq4jPIxQuJLqs-1780192585.jpeg

फेन्काका अध्यक्ष डा. मधु पुडासैनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य फेन्का न्यू साउथ वेल्सका स्टेट कोअर्डिनेटर मुक्तिराम पोखरेलले राखेका थिए। कार्यक्रम सञ्चालन फेन्काका सचिव डा. प्रकाश पौडेलले गरेका थिए।

प्रभातफेरीबाट सुरु भएको कार्यक्रममा गोर्खा समाज अष्ट्रेलियाले प्रस्तुत गरेको परम्परागत लाखे नाच विशेष आकर्षणको केन्द्र बनेको थियो। नेपाली कला, संस्कृति र मौलिक पहिचान झल्किने विभिन्न प्रस्तुतीहरूले कार्यक्रमलाई थप जीवन्त बनाएका थिए।

कार्यक्रममा स्ट्राथफिल्डका स्टेट मेम्बर तथा न्यू साउथ वेल्स सरकारका बहुसांस्कृतिक मामिलामन्त्रीका प्रतिनिधि जेसन लीले नेपाली समुदायले अष्ट्रेलियाबाट नेपालको पहिचान विश्वसामु स्थापित गर्न खेलेको भूमिकाको प्रशंसा गरे। उनले नेपालको बहुसांस्कृतिक परम्परा आफूलाई अत्यन्त मनपर्ने बताउँदै यस्ता प्रयासमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

विशेष अतिथिका रूपमा सहभागी बैंक्सका संघीय सांसद झी सुन तथा ल्यापिङ्टनका राज्य सांसद नाथन हेगर्टीले सगरमाथा पार्क निर्माणको पहलमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनीहरूले नेपालको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपाललाई विश्व पर्यटन गन्तव्यका रूपमा थप सशक्त रूपमा प्रवर्द्धन गर्नुपर्ने धारणा राखे।att.VC_8mNDclIp20FmDLPZnAkVSTGYKb6XvzMtXYnZu8Eg-1780192612.jpeg

फेन्काका अध्यक्ष डा. पुडासैनीले सगरमाथा नेपालको मात्र नभई विश्वकै साझा सम्पदा भएकाले यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। उनले विदेशमा रहेका नेपालीहरूले नेपालको पर्यटन, कला, संस्कृति र राष्ट्रिय पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे।

कार्यक्रमअन्तर्गत आयोजित बाल चित्रकला प्रतियोगितामा ४८ जना बालबालिकाको सहभागिता रहेको थियो। प्रतियोगितामा सीमोल सिर्पाली प्रथम, सायना पाण्डे द्वितीय, आयन घिमिरे तृतीय तथा आइशा सापकोटा चौथो भएका थिए। विजेता बालबालिकाहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा प्रस्तुत चित्रहरूले सगरमाथा, हिमाली वातावरण, जलवायु परिवर्तन तथा नेपालको प्राकृतिक सौन्दर्यलाई सशक्त रूपमा चित्रण गरेका थिए।

कार्यक्रममा नेपाली तथा अष्ट्रेलियन झण्डासहित सहभागीहरूले सगरमाथाको महत्व, प्राकृतिक सम्पदा संरक्षण र जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने सन्देश प्रवाह गरेका थिए। नेपाली मौलिक पोशाकमा सजिएका सहभागीहरूको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, बुद्धिजीवी, अभिभावक, युवा, बालबालिका, पत्रकार तथा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

आयोजकका अनुसार कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्