सिड्नी। अस्ट्रेलियामा रहेका नेपाली समुदायका लागि खेलकुदको ठूलो उत्सवका रूपमा NAWS Cup Soccer 2026 आयोजना हुने भएको छ। Nepalese Australian Welfare Society (NAWS) को २७औँ वार्षिकोत्सवको अवसरमा, Australian Nepalese Football Association (ANFA) सँगको सहकार्यमा हुन लागेको यस प्रतियोगिताले समुदायबीच एकता, स्वास्थ्य र आपसी सम्बन्ध सुदृढ गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिता आगामी १० मे २०२६ देखि सुरु हुनेछ भने टिम दर्ताको अन्तिम मिति ३० अप्रिल २०२६ तोकिएको छ।
आयोजकका अनुसार, अस्ट्रेलियाभर छरिएका नेपाली टिमहरूलाई एउटै मैदानमा ल्याएर खेलमार्फत आपसी चिनजान बढाउने, युवाहरूलाई सक्रिय र अनुशासित बनाउने तथा परिवारमैत्री वातावरणमा समुदायलाई जोड्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो। व्यवस्थित खेल तालिका, रेफ्री व्यवस्थापन र समुदायको व्यापक सहभागिताले प्रतियोगितालाई अझ आकर्षक बनाउने विश्वास गरिएको छ।
NAWS का अध्यक्ष चिरन तिवारीले भने, “NAWS Cup केवल फुटबल प्रतियोगिता होइन, यो हाम्रो समुदायलाई नजिक ल्याउने माध्यम हो। खेलकुदले स्वास्थ्य मात्र होइन, आपसी समझदारी र सहकार्य पनि बढाउँछ। अस्ट्रेलियामा रहेका सबै नेपाली टिमहरूले यसमा सहभागिता जनाएर यसलाई साझा उत्सवका रूपमा मनाउन तिवारीले अपिल गरेका छन् ।
NAWS अस्ट्रेलियामा स्थापित एक पुरानो र सक्रिय नेपाली सामुदायिक संस्था हो, जसले विगतदेखि नै सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिमार्फत नेपाली समुदायलाई जोड्दै आएको छ। विशेषगरी, NAWS ले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको परम्पराले नेपाली युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै समुदायस्तरमा आपसी सहकार्य र भाइचारा मजबुत बनाउँदै आएको छ। यही निरन्तर प्रयासको विस्तारका रूपमा यस वर्ष NAWS Cup Soccer 2026 लाई अझ व्यवस्थित र बृहत्तर स्वरूपमा आयोजना गर्न लागिएको हो।
इच्छुक टिमहरूलाई समयमै दर्ता गरी सहभागिता सुनिश्चित गर्न आयोजकले अनुरोध गरेका छन्। थप जानकारीका लागि बैकुण्ठ (0425 311 323), चिरन (0423 618 417), भुवन (0412 035 187) वा [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ।