नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा भोली शनिबार सोनाम ल्होछार २८६२ भव्य रूपमा मनाइँदै, दिल तामाङ र अश्मान लोप्चनको विशेष प्रस्तुति

सिड्नी ।  अष्ट्रेलियामा बसोबास गर्ने तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछार २८६२ (घोडा वर्ष) तामाङ सोसाइटी अफ न्यु साउथ वेल्स (NSW) को आयोजनामा भव्य रूपमा मनाइने भएको छ। कार्यक्रम भोली शनिबार, २४ जनवरी २०२६ का दिन सिड्नीस्थित रिभरसाइड थिएटर्स, पारामाटामा आयोजना हुनेछ।

साँझ ५ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा कलाकार दिल तामाङ र अश्मान लोप्चनको विशेष प्रत्यक्ष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा तामाङ मौलिक गीत–संगीत, सांस्कृतिक नृत्य, डिजे सेसनलगायत विविध सांस्कृतिक आकर्षण समावेश गरिनेछ।

तामाङ सोसाइटी अफ एनएसडब्ल्यूका अध्यक्ष अबिरल तामाङले सोनाम ल्होछार केवल नयाँ वर्षको सुरुवात मात्र नभई तामाङ समुदायको पहिचान, इतिहास र संस्कृतिसँग जोडिएको महत्वपूर्ण पर्व भएको बताए।
“विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई जोगाइराख्नु हाम्रो साझा दायित्व हो। सोनाम ल्होछार कार्यक्रममार्फत समुदायलाई एकताबद्ध गर्दै नयाँ पुस्तामा सांस्कृतिक चेतना प्रवाह गर्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष तामाङले भने। सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सांस्कृतिक आदान–प्रदानमा जोडिन अध्यक्ष तामाङले आग्रह गरे। कार्यक्रमको प्रवेश शुल्क ४५ अष्ट्रेलियन डलर तोकिएको छ, जसमा निःशुल्क भोजन समेत समावेश छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्