नेभिगेशन
न्यू साउथ वेल्स

एन्टाको अध्यक्षमा सुजित सिंह, कार्यसमिति सर्वसम्मत

 

सिड्नी। । एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) ले सुजित कुमार सिंहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अनलाइन निर्वाचनको तयारी भइरहेका बेला अध्यक्ष पदका उम्मेदवार नितेश साहले उम्मेदवारी फिर्ता लिएपछि सहमतिबाटै नयाँ नेतृत्व चयन गरिएको हो। गत साता सम्पन्न वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको थियो। तर निर्वाचन समितिको पहलमा सहमति जुटेपछि निर्वाचन आवश्यक परेन।
नयाँ कार्यसमितिमा अध्यक्षमा सुजित कुमार सिंह चयन भएका छन्। उपाध्यक्षमा विकास कुमार झा, महासचिवमा अन्जु शाह, संयोजकमा एमडी सैफुल्लाह, कोषाध्यक्षमा रञ्जित कुमार दास, सह–कोषाध्यक्षमा विनय कुमार यादव र जनसम्पर्क अधिकृतमा मनिष कुमार साह चयन भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा राजेश यादव, रितेश कुमार महतो, सुजित कुमार साह, विशाल कुमार पण्डित, सुरज कुमार साह, नितिश गुप्ता, अजित कुशवाहा, विक्की कुशवाहा, प्रमिश महतो र नरेश कुमार साह रहेका छन्।
एन्टाका निवर्तमान अध्यक्ष रञ्जित साहले नयाँ कार्यसमितिले समुदायको हित, संस्कृति संरक्षण र पहिचानका सवालमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
नव–निर्वाचित अध्यक्ष सिंहले प्रवासमा करिब डेढ दशकको सामाजिक अनुभवलाई आगामी दुई वर्षे कार्यकालमा उपयोग गरी संस्थालाई सशक्त बनाउने बताएका छन्। उपाध्यक्ष विकास झासहित अन्य पदाधिकारीहरूले तराई समुदायसँगै समग्र नेपाली समुदायबीच सहकार्य विस्तार गर्ने बताएका छन्।
सामाजिक सेवा, सांस्कृतिक प्रवर्द्धन तथा समुदायका अधिकारका सवालमा सक्रिय एन्टा अष्ट्रेलिया प्रवासी नेपाली संस्थामध्ये एक स्थापित संस्थाका रूपमा परिचित छ। संस्थाका गतिविधि अष्ट्रेलिया लगायत नेपालमा पनि निरन्तर सञ्चालन हुँदै आएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्