नेभिगेशन
न्यू साउथ वेल्स

अष्ट्रेलियामा नेपाली समुदायले मनाए पृथ्वी जयन्ति तथा ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’

सिड्नी। पृथ्वी जयन्तिको अवसरमा अष्ट्रेलियामा रहेका नेपाली समुदायले पृथ्वी जयन्ति तथा ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ विभिन्न कार्यक्रम गरी मनाएका छन्। सिड्नी, क्यानबेरा, एडिलेड र ब्रिजबेनलगायत प्रमुख शहरहरूमा आयोजित कार्यक्रममा राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिएको थियो।

सिड्नीको ग्रानभिलस्थित नेपाली रेस्टुरेन्ट फ्लेभर्स अफ नेपाल मा पृथ्वीनारायण शाहको योगदानबारे संगोष्ठी तथा माल्यार्पण कार्यक्रम आयोजना गरिएको थियो। हरेक वर्ष खुला पार्कमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष मौसम प्रतिकूलताका कारण रेस्टुरेन्टको इभेन्ट हलमा गरिएको नेपाली कम्युनिटी प्लेटफर्म नेपालीपेज का मदनमणि अधिकारीले जानकारी दिए।

कार्यक्रममा युवा अभियन्ता तथा व्यवसायी दिपक पौडेलले राष्ट्रनिर्माताको योगदानमाथि अनावश्यक विवाद उपयुक्त नहुने बताए। केही राजनीतिक दलले इतिहास मेटाउने प्रयास गरिरहेको भन्दै त्यसले नेपाली पहिचानमा नकारात्मक असर पार्ने उनको भनाइ थियो। साथै, पृथ्वी जयन्तिको अवसरमा नेपाल सरकारका निकायबाट औपचारिक कार्यक्रम नहुनु दुःखद भएको उनले बताए। 
कार्यक्रममा अष्ट्रेलियाका नेपाली पत्रकार तथा एन्जाका संस्थापक अध्यक्ष हेमन्त काफ्लेले इतिहास बिर्सिँदा भविष्यसमेत प्रभावित हुने भन्दै पृथ्वी जयन्तिलाई राष्ट्रिय महत्वको पर्वका रूपमा मनाउनुपर्ने बताए। पृथ्वीनारायण शाह नेपाली एकताको सूत्रधार भएको उनले उल्लेख गरे।

एनआरएन अभियन्ता डिला खरेलले अष्ट्रेलियामा नेपाली पहिचानसहित उभिन सक्ने अवस्था निर्माण हुनु नै पृथ्वीनारायण शाहको योगदानको प्रतिफल भएको बताए।

युवा अभियन्ता धर्वेन्द्र यादवले पृथ्वीनारायण शाह नेपाल र नेपालीको पहिचानको आधार भएको बताए। अष्ट्रेलियामा पृथ्वी जयन्तिलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाउँदै आइएको आयोजक समितिका मदनमणि अधिकारीले जानकारी दिए। कार्यक्रममा सिड्नीका सामुदायिक अगुवाहरू यम धिताल, राजेश केसी र बिजे शाहलगायतले मन्तव्य राखेका थिए।

नेपाली कम्युनिटी प्लेटफर्म नेपालीपेज ले अष्ट्रेलियामा रहेका करिब दुई लाख नेपालीलाई जोड्दै विद्यार्थी, युवा तथा बासिन्दालाई रोजगारी, आवास र करिअरसम्बन्धी जानकारी तथा सहयोग प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्