सिड्नी । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देश तथा बिदेशमा विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिएका शाहको ऐतिहासिक योगदानको स्मरण गर्दै सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दल र सुरक्षा निकायहरूले विशेष कार्यक्रम आयोजना गरेका छन्।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गर्न आज सधैँझैँ प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको उनको सालिकमा पुष्पहार अर्पण गरिँदैछ। पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोह आयोजना गरेको छ। सो समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ।
शाहको जन्मस्थान गोरखामा पनि हरेक वर्षझैँ यस वर्षसमेत पृथ्वी जयन्ती विशेष कार्यक्रमका साथ मनाइँदैछ। नेपाली सेनाले पृथ्वी जयन्तीका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गरेको छ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सामाजिक, आर्थिक तथा भौगोलिक चुनौतीका बीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरूलाई एकीकृत गर्दै आधुनिक नेपालको आधार तयार गरेका थिए। २० वर्षको उमेरमा गद्दीआरोहण गरेका शाहले आन्तरिक तथा बाह्य शक्तिहरूलाई पराजित गर्दै एकीकरण अभियान सञ्चालन गरेका थिए। विसं १८३१ मा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई सुदृढ बनाउन प्रेरणा प्रदान गर्दछ। व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त, समावेशी र समुन्नत राष्ट्र निर्माणको आधार हो भन्ने सन्देश यस दिवसले दिन्छ। विशेषगरी युवापुस्तामा मातृभूमिप्रतिको समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गराउन यस दिवसको विशेष महत्व रहेको छ।
शाहको एकीकरण अभियानका कारण नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता अक्षुण्ण रहँदै आएको छ, जसका कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रहरूमध्ये एकका रूपमा स्थापित हुन सफल भएको छ। उनका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका सन्दर्भमा उत्तिकै सान्दर्भिक छन्। भौगोलिक अवस्थालाई दृष्टिगत गर्दै उनले नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’ को संज्ञा दिएका थिए।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश व्यक्त गर्दै राष्ट्रिय एकता, स्वाधीनता र सुशासनप्रति प्रतिबद्ध रहन आह्वान गरेका छन्।