सिड्नी । अष्ट्रेलियास्थित नेपाली दूतावास, क्यानबेराले न्यू साउथ वेल्समा बसोबास गर्ने नेपाली समुदायका लागि सिड्नीमा दुई दिने घुम्ती सेवा सञ्चालन गर्ने भएको छ। दूतावासद्वारा जारी सूचनाअनुसार उक्त सेवा आज र भोली अर्थात जनवरी ३ र ४ तारिकमा सञ्चालन हुनेछ। घुम्ती सेवा Honorary Consulate of Nepal, Sydney को कार्यालय Suite 2, Level 5, 263 Clarence Street, Sydney NSW 2000 मा प्रदान गरिनेछ। जनवरी ३ तारिक बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म तथा जनवरी ४ तारिक बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म सेवा सन्चालन हुनेछ।
यस अवधिमा राहदानी नवीकरण, नयाँ राहदानी आवेदन संकलन तथा अन्य आवश्यक कन्सुलर सेवाहरू उपलब्ध गराइने दूतावासले जनाएको छ।
न्यू साउथ वेल्सका मानार्थ वाणिज्यदूत सन्जीव शर्माले घुम्ती सेवाले सिड्नी र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताएका छन्। क्यानबेरासम्म यात्रा गर्नुपर्ने बाध्यता हट्नु समय र खर्च दुवै दृष्टिले लाभदायक हुने उल्लेख गर्दै उनले सेवाग्राहीहरूलाई आवश्यक कागजात तयारी गरी समयमै सेवा लिन आग्रह गरेका छन्।
दूतावासका अनुसार राहदानीको म्याद ६ महिनाभन्दा कम बाँकी रहेका, हराएको, क्षतिग्रस्त वा पृष्ठ सकिएको राहदानी भएका सेवाग्राहीलाई प्राथमिकताका आधारमा सेवा प्रदान गरिनेछ। सेवाका लागि अनिवार्य रूपमा अनलाइन आवेदन फाराम भरी आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरिएको छ।