नेभिगेशन
न्यू साउथ वेल्स

धर्म जागरण महासत्संग  : सिड्नीमा कलश यात्रासहित भव्य आध्यात्मिक तथा सांस्कृतिक महाआयोजनाको तयारी

सिड्नी   ।  अष्ट्रेलियामा बसोबास गर्ने नेपाली तथा हिन्दू धर्मावलम्बीहरूका लागि एक महत्वपूर्ण आध्यात्मिक अवसरका रूपमा “धर्म जागरण महासत्संग आयोजना हुने भएको छ। तीन दिनसम्म सञ्चालन हुने यो भव्य धार्मिक तथा सांस्कृतिक महोत्सव सन् २०२६ जनवरी २, ३ र ४ तारिखका दिन सिड्नीस्थित  ग्रान्ड प्यालेस रिसेप्सन, अर्बनमा आयोजना गरिनेछ।

महोत्सवको शुभारम्भ परम्परागत तथा धार्मिक महत्व बोकेको कलश यात्राबाट गरिनेछ। वैदिक मन्त्रोच्चारण, भजन–कीर्तन र श्रद्धाभावसहित निकालिने कलश यात्राले कार्यक्रमलाई आध्यात्मिक ऊर्जा प्रदान गर्नुका साथै सनातन हिन्दू संस्कारको सन्देश प्रवाह गर्ने आयोजकले जनाएका छन्। कलश  यात्रा 45 Macquarie Rd, Auburn बाट बिहान ९:३० बजे सुरु हुनेछ। IMG_3033-1766268785.jpeg

यस महोत्सङ्गको मुख्य आकर्षण अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका राधिका दासी जी को विशेष प्रवचन रहनेछ। वैदिक दर्शन, सनातन धर्म, मानव जीवनका मूल्य र आध्यात्मिक चेतनाको जागरणमा केन्द्रित उनका प्रवचनहरूले प्रवासी भूमिमा बसोबास गर्ने श्रद्धालुहरूलाई गहिरो प्रेरणा दिने अपेक्षा गरिएको छ।

कार्यक्रममा गुरु डा. मोलानाथ योगी, आचार्य राजन शर्मा (राजन गुरु) लगायत नेपाल तथा अष्ट्रेलियाका प्रतिष्ठित धार्मिक विद्वान, साधक तथा भजन–कीर्तन कलाकारहरूको उल्लेखनीय सहभागिता रहनेछ। कथा प्रवचनसँगै भजन–कीर्तन, सांस्कृतिक प्रस्तुति र धार्मिक संवादमार्फत सनातन हिन्दू धर्मको संरक्षण तथा वैदिक संस्कृतिको प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको छ।

यस अवसरमा श्री योगी नरहरिनाथ वैदिक सनातन हिन्दू संस्कार प्रतिष्ठान तथा अष्ट्रेलिया फाउन्डेसनका अध्यक्ष नारायण शास्त्री पन्थीले धर्म जागरण महोत्सङ्ग प्रवासी नेपाली तथा हिन्दू समुदायका लागि धर्म, संस्कार र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने महत्वपूर्ण अभियान भएको  बताए                                                                        । शास्त्री  पन्थीका  अनुसार कलश यात्रासहित आयोजना गरिने यस प्रकारका कार्यक्रमहरूले नयाँ पुस्तामा आध्यात्मिक चेतना, नैतिक मूल्य र सामाजिक सद्भाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

श्री योगी नरहरिनाथ वैदिक सनातन हिन्दू संस्कार प्रतिष्ठान तथा अष्ट्रेलिया फाउन्डेसन परिवारको संयुक्त आयोजनामा सम्पन्न हुन लागेको यस महोत्सवले अष्ट्रेलियामा रहेका नेपाली, भारतीय तथा अन्य हिन्दू समुदायबीच धार्मिक एकता, सांस्कृतिक चेतना र आपसी सद्भावलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

आयोजक समितिले सम्पूर्ण श्रद्धालु, धर्मप्रेमी तथा समुदायका सदस्यहरूलाई कलश यात्रासहित यस ऐतिहासिक धर्म जागरण महोत्सङ्गमा सहभागी भई आध्यात्मिक तथा सांस्कृतिक लाभ लिन हार्दिक अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्