सिड्नी। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले सिड्नीको बन्डाई क्षेत्रमा हिजो आइतवार भएको आतङ्ककारी आक्रमणको कडा शब्दमा निन्दा गर्दै पीडित, उनीहरूको परिवार तथा सम्पूर्ण अष्ट्रेलियाली समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
एनआरएनए अष्ट्रेलियाका प्रवक्ता अशोक बस्नेतद्वारा आज जारी गरिएको विज्ञप्तीमा उक्त अमानवीय र संवेदनहीन हिंसात्मक घटनाले निर्दोष नागरिकहरू, उनीहरूको परिवार तथा समग्र अष्ट्रेलियाली समाजलाई गहिरो पीडा र शोकमा पारेको उल्लेख गरिएको छ । संस्थाले यस दुःखद घडीमा पीडितहरूसंग ऐक्यबद्धता जनाउदै समुदायसग एकताका साथ उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
विज्ञप्तिमा अष्ट्रेलियन फेडरल पुलिस, न्यू साउथ वेल्स पुलिस, घटनास्थलमा खटिएका सर्वसाधारण नागरिक तथा आपतकालीन र स्वास्थ्यकर्मीहरूले देखाएको छिटो, साहसी र व्यावसायिक भूमिकाको उच्च प्रशंसा गरिएको छ । एनआरएनए अष्ट्रेलियाले जनजीवनको सुरक्षा र सार्वजनिक सुरक्षाका लागि अहोरात्र खटिने सबै सुरक्षाकर्मी तथा प्रथम उद्धारकर्ताहरूप्रति सम्मान व्यक्त गरेको छ ।
अष्ट्रेलियाको बहुसांस्कृतिक समाजको गर्विलो र सक्रिय सदस्यको रूपमा नेपाली समुदायले शान्ति, एकता र सामाजिक सद्भावप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ । एनआरएनए अष्ट्रेलियाले आतङ्कवाद, उग्रवाद र घृणाका सबै रूपहरूको स्पष्ट रूपमा विरोध गर्दै हिंसाविरुद्ध एकजुट, दृढ र करुणामय भएर उभिन सम्पूर्ण अष्ट्रेलियाली समुदायलाई आह्वान गरेको छ ।
उक्त घट्नामा आजसम्म १६ जनाको ज्यान गइसकेको छ भने ४२ जना घाइतेहरुको सिड्नीका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।