सिड्नी । सिड्नीको अर्बन क्षेत्रमा नेपाली समुदायलाई केन्द्रमा राखी नयाँ ‘ग्रान्ड प्यालेस फङ्सन सेन्टर’ को हिजो एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। आधुनिक सुविधा र आकर्षक संरचनासहित तयार भएको यो केन्द्रलाई नेपाली कला, संस्कृति र समुदायलाई जोड्ने साझा स्थलका रूपमा अघि बढाइने जनाइएको छ।आधुनिक सुविधासहितको यो केन्द्रलाई नेपाली समुदायलाई जोड्ने साझा स्थलका रूपमा विकास गरिने संचालक एवम युबा ब्यबसायी तथा सामाजिक अभियन्ता रन्जित साहले बताएका छन्।
कार्यक्रममा प्रमुख अतिथि बरिस्ट संगीत सम्राट शम्भुजीत बाँस्कोटाले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित दर्शक मन्त्रमुग्ध बने। गायिका प्रीति घिमीरेले समेत मञ्च साझा गर्दा वातावरण झन् उत्साहपूर्ण बनेको थियो। ठूलो संख्यामा नेपाली समुदायको उपस्थिति रहँदा उद्घाटन उत्सव विशेष र अविस्मरणीय बनेको आयोजकहरूले बताएका छन्। उद्घाटन समारोहलाई ख्यातिप्राप्त फिल्म निर्देशक सोभित बस्नेतले विशेष डिजाइन गरेका थिए र होस्टिङ पनि उनले नै गरेका थिए।
ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा करिब ४०० जनासम्म अट्ने ठूलो हल र २०० जनासम्म अट्ने सानो हल तयार गरिएको छ, जसलाई विवाह, सम्मेलन, सांस्कृतिक कार्यक्रमदेखि अन्तर्राष्ट्रियस्तरका विविध कार्यक्रमका लागि आकर्षक स्थलका रूपमा उपयोग गर्न सकिनेछ।
सञ्चालक युबा ब्यबसायी तथा सामाजिक अभियन्ता साहका अनुसार, हरेक महिना नेपालबाट कलाकारहरूलाई निमन्त्रणा गरी सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने योजना छ। यसले नेपाली प्रतिभा र संस्कृतिलाई सिड्नीमा अझ व्यापक रूपमा चिनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
“यो फङ्सन सेन्टर केवल कार्यक्रम स्थल मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई जोड्ने साझा परिवारको ठाउँ हो। हाम्रो उद्देश्य सिड्नीमा बस्ने नेपालीलाई आफ्नै संस्कृति, कला र भावनासँग नजिक ल्याउनु हो। सबै नेपालीले यसलाई आफ्नै घरजस्तै अनुभव गर्न सकून् भन्ने हाम्रो चाहना हो,” साहले बताए।