सिड्नी । नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहसँग आगामी शनिबार सिड्नीमा विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ। निजी कामका सिलसिलामा अष्ट्रेलिया आईपुगेकी सिंहसँग जनसम्पर्क समिति अष्ट्रेलियाले सिड्नीमा बसोबास गर्ने नेपाली समुदायसँग भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो।
कार्यक्रम सेप्टेम्बर ६ तारिख शनिबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म ग्रानभिलस्थित Flavours of Nepal रेष्टुरेन्टमा हुनेछ। सिंहले कार्यक्रममा नेपाली कांग्रेसको समसामयिक स्थिति, महिला नेतृत्वको भूमिका र प्रवासी नेपालीहरूको योगदानबारे धारणा राख्ने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसकी केन्द्रीय महासमिति सदस्य रहनु भएका सिंह नेपाल महिला संघकी सल्लाहकार एब कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहकी पत्नी पनि हुन्।
जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश रनसिङ गुरुङ्गले कार्यक्रममा सबै नेपालीलाई सहभागी हुन आग्रह गर्दै भने- कार्यक्रमले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई नजिक्याउने र लोकतान्त्रिक मूल्य मान्यतालाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गर्दै यस किसिमका भेटघाटहरूले सामाजिक एकता र आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउँने बताए ।