नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नी म्याराथन २०२५ मा नेपाली धावकहरूको गौरवपूर्ण उपस्थिति

सिड्नी। अष्ट्रेलियाको सबैभन्दा ठूलो दौड प्रतियोगिता सिड्नी म्याराथन २०२५ हिजो  आईतवार  नेपाली मूलका धावकहरूको ऐतिहासिक सहभागितासहित सम्पन्न भएको छ। करिब ३५ हजारभन्दा बढी धावक सहभागी भएको यस प्रतिस्पर्धामा नेपाल, अष्ट्रेलिया, वेलायत, अमेरिका, जापानलगायतका देशका धावकहरु  थिए जसमा ५० भन्दा बढी नेपाली धावकहरूको सहभागिता रह्यो, जुन अन्तर्राष्ट्रिय म्याराथनमा नेपालीहरूको अहिलेसम्मकै सबैभन्दा ठूलो उपस्थिति मानिएको छ।

नेपाली धावकहरूले पनि उल्लेखनीय प्रदर्शन गरेका छन्। नेपाली मूलका धावक विकास श्रेष्ठले ४२.२ किलोमिटर दूरी २ घण्टा ५५ मिनेटमा पूरा गर्दै उत्कृष्ट नतिजा हासिल गरे भने वेलायत निवासी सन्तोष राईले सोही दूरी २ घण्टा ५७ मिनेट ५६ सेकेन्डमा पार गरी प्रभावशाली प्रदर्शन गरे। नेपालबाट विशेष रूपमा सहभागी भएका रामकृष्ण महर्जनसहित तीन धावकले पनि प्रतिस्पर्धामा सक्रिय सहभागिता जनाए।

प्रतियोगिता पश्चात नेपाली समुदायको तर्फबाट नर्थवेष्ट नेपाली कम्युनिटीले विशेष स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा सम्पूर्ण धावकलाई नेपाली झण्डा अंकित खादा ओढाएर सम्मान गरिएको थियो। यस अवसरमा अध्यक्ष बिकेन्द्र अधिकारीले धावकहरूको साहस र उपलब्धिलाई नेपाली समुदायकै साझा गौरवका रूपमा व्याख्या गर्दै निरन्तर स्वास्थ्य, खेलकुद र समुदायप्रतिको योगदानलाई प्रेरणादायी बताउनुभयो।

यस वर्षको म्याराथनमा पुरुषतर्फ एथियोपियाका Hailemaryam Kirosले २:०६:०६ समयमा दूरी पूरा गरी विजेता बने भने महिलातर्फ डच धाविका Sifan Hassanले २:१८:२२ समयमा दूरी पार गर्दै नयाँ कीर्तिमान कायम गरे।

सिड्नी म्याराथन २०२५ यसपटक पहिलोपटक औपचारिक रूपमा विश्वकै प्रतिष्ठित World Marathon Majors मा सूचीकृत भएको छ, जसले सिड्नीलाई मात्र होइन, यसमा सहभागिता जनाउने सम्पूर्ण समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएको छ। नेपाली धावकहरूको सक्रिय उपस्थिति र उत्कृष्ट प्रदर्शनले यस उपलब्धिलाई अझ अर्थपूर्ण बनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्