नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नी आध्यात्मिक महोत्सव सम्पन्न : २० लाखभन्दा बढी अष्ट्रेलियन डलर सहयोग प्रतिबद्धता, १००० आजीवन सदस्य नाघे 

सिड्नी।  नेपाली समुदायको साझा सपना, नेपाली बहुसांस्कृतिक तथा सामुदायिक केन्द्र (GSNMC) निर्माण गर्ने उदेश्यसहित सिड्नीमा आयोजना गरिएको तीन दिने सिड्नी आध्यात्मिक महोत्सव आइतबार साँझ सफलतापूर्वक सम्पन्न भएको छ। बरउड पार्कमा आयोजना भएको महोत्सवको अन्तिम दिन मध्यान्हदेखि राति करिब ८ बजेसम्म भक्तजन, श्रद्धालु र समुदायका अगुवाहरूको बाक्लो उपस्थिति रह्यो। भजन–कीर्तन, ध्यान–प्रार्थना, प्रवचन, सांस्कृतिक प्रस्तुति र सामुदायिक संवादले महोत्सवलाई अझ आकर्षक र जीवन्त बनाएको थियो।IMG_1152-1756672680.jpeg

अन्तिम दिनमात्रै २०० भन्दा बढी व्यक्तिले आजीवन सदस्यता आवेदन दर्ता गरे भने ६१ जना दाताबाट करिब १२ लाख २० हजार अष्ट्रेलियन डलर दान प्रतिबद्धता प्राप्त भएको छ। यसै दिन दान पेटिकाबाट २४०० डलर नगद संकलन भएको पनि आयोजकहरूले जनाएका छन्। तीन दिनसम्म चलेको महोत्सवमा ५०० भन्दा बढी व्यक्तिले आजीवन सदस्यता लिएका छन् भने करिब २० लाखभन्दा बढी अष्ट्रेलियन डलर दान प्रतिबद्धता संकलन भएको छ। यससँगै GSNMC को आजीवन सदस्य संख्या १००० नाघेको छ, जुन संस्थागत रूपमा एक ऐतिहासिक उपलब्धि मानिएको छ।

धार्मिक र आध्यात्मिक कार्यक्रमहरूसँगै महोत्सवमा नेपाली संस्कृतिको झल्को दिने विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए। बालबालिकादेखि वृद्धसम्मको उत्साहपूर्ण सहभागिता र सामूहिक सन्ध्या आरतीले महोत्सवलाई थप भव्य बनाएको थियो।

आयोजक समितिले महोत्सवमा उपस्थित दाताप्रति आभार व्यक्त गर्दै, विभिन्न कारणले प्रत्यक्ष उपस्थित हुन नसकेकाहरूलाई पनि अभियानमा निरन्तर जोडिन आग्रह गरेको छ। “यो केवल आजकै लागि होइन, भावी पुस्ताका लागि हाम्रो साझा सपना हो। सिड्नीमा नेपाली पहिचान, संस्कृति र आध्यात्मिकताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मिनी नेपाल’ निर्माण गर्ने हाम्रो यात्रामा कोही पनि नछुटोस्,” आयोजकहरूको भनाइ छ।IMG_1150-1756672707.jpeg

नेपाली समुदायलाई एकजुट गर्दै बहुसांस्कृतिक अष्ट्रेलियन समाजलाई पनि आत्मसात गर्ने गरी केन्द्रलाई सबैका लागि खुला र उपयोगी बनाउने लक्ष्य लिएको GSNMC ले महोत्सवपछि पनि सचेतना र अर्थसंकलन अभियान निरन्तर जारी रहने स्पष्ट पारेको छ। नेपाली पहिचान, संस्कृति र अध्यात्मिकताको संरक्षण तथा प्रवर्द्धनका लागि “सिड्नीमा मिनी नेपाल निर्माण गर्ने सपना” साकार पार्न सबै समुदायलाई GSNMC ले सहयोगको लागि आह्वान गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्