सिड्नी । सिड्नी आध्यात्मिक महोत्सव २०२५ शुक्रबारदेखि भव्यताका साथ सुरु भएको छ। उद्घाटन दिवसमा सम्पन्न कलश यात्रामा १,२०८ कलश, पञ्चकन्या, पञ्चेबाजा सहित करिब १,५०० जनाको उत्साहपूर्ण सहभागिता रह्यो। सिड्नीका ५० भन्दा बढी सामुदायिक संघ–संस्थाको उपस्थिति रहँदा बरउड पार्क धार्मिक र सांगीतिक वातावरणले उत्सवमय बनेको थियो।
कलश यात्रापछि आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा अष्ट्रेलियास्थित नेपाली दूतावासका प्रतिनिधि कुलबहादुर मगरले शुभकामना मन्तव्य दिए। कार्यक्रममा न्यू साउथ वेल्स प्रिमियर क्रिस मिन्सका तर्फबाट बहुसांस्कृतिक मामिला सम्बन्धी संसदीय सचिव माननीय मार्क बटीगेग, मन्त्रीका प्रतिनिधि जेसन यात-सेन ली, संघीय सांसद स्याली सिटो, बरउड मेयर जोन फाकेरका तर्फबाट काउन्सिलर सुकीर्ति भट्ट र एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पनि महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए।
महोत्सवको पूर्वसन्ध्यामा पूज्य बौद्ध धर्मगुरु टुल्कु सोनाम रिम्पुचे र वाचन प्रविण दीनबन्धु पोख्रेलबाट आशीर्वचन प्रदान गरिएको थियो। साथै भरतनाट्यमलगायत विविध धार्मिक र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रमको पहिलो दिनमै नेपाली बहुसांस्कृतिक केन्द्र (मिनी नेपाल) निर्माणका लागि करिब अष्ट्रेलियन डलर ४ लाखभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको आयोजक GSNMC ले जनाएको छ। यस क्रममा अध्यक्ष विष्णु हमाल/सपना हमाल, उपाध्यक्ष उमेश पन्त/सिर्जना पन्त र समाजसेवी सुभान्स साहले जनही १ लाख डलर, महेन्द्र लम्साल/लता लम्सालबाट २५ हजार, सुजित सिग्देल/साधना सिग्देलबाट १० हजार, बिष्णु घिमिरे/अन्जु घिमिरेबाट १० हजार, मिना शर्मा/शुबर्ण शर्माबाट १० हजार, प्रकाश बस्ताकोटी/सिर्जना बस्ताकोटीबाट १० हजार, अमृत आचार्य/रमा आचार्यबाट १० हजार, कल्याणी बर्तौला/बिनोद बाट १० हजार, प्रतिज्ञा अधिकारीबाट १० हजार र सुमन बर्तौला/सिर्जना सिग्देलबाट पाच हजार एक दान प्राप्त भएको छ| पहिलो दिनको अन्तिमसम्म १५ जनाले आजीवन सदस्यता लिनु भएको छ| नगद दान पेटिकामा $२०१० प्राप्त भएको थियो |
तीन दिनसम्म निरन्तर सञ्चालन हुने सिड्नी आध्यात्मिक महोत्सव आइतवारसम्म चल्नेछ। आयोजक GSNMC ले सिड्नीमा स्थापना हुन लागेको नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण अभियानमा सम्पूर्ण नेपाली समुदायलाई सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गरेको छ।