सिड्नी । ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टरले आगामी २९ अगस्टदेखि तीन दिनसम्म आयोजना गर्न लागेको सिड्नी अध्यात्मिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सिड्नीमा हिजो आईतवार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले हालसम्म १,१२५ जना श्रद्धालुहरूले कलश यात्राका लागि नाम दर्ता गरिसकेको जानकारी दिएको छ । कार्यक्रम मार्की होमको मुख्य प्रायोजनमा सम्पन्न हुँदैछ । आयोजकले देखिएको उत्साहपूर्ण सहभागिताले सिड्नीवासी नेपाली समुदायको प्रतिबद्धता प्रष्ट भएको बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका अध्यक्ष विष्णु हमालले सिड्नी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई धार्मिक, सामाजिक र सांस्कृतिक एकतामा बाँध्ने उद्देश्यले यो अभियान अघि सारिएको बताए । उनले सेन्टरलाई “मिनी नेपाल” का रूपमा प्रवर्द्धन गर्ने योजना रहेको उल्लेख गरे । हमालले हाल करिब ५ मिलियन अष्ट्रेलियन डलर जग्गा तथा पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जानकारी दिँदै समुदायलाई आर्थिक सहयोगमा हातेमालो गर्न आग्रह गरे । उनका अनुसार, हालसम्म ५७० सदस्य भइसकेका छन् र ५ हजार सदस्य पुगेपछि जमिन खरिद गर्ने तथा दोस्रो चरणमा सरकारी अनुदानका लागि पहल गर्ने योजना रहेको छ ।
उनले थपे, “हामी सबै मिलेर यो सपना पूरा गर्न सक्छौँ । यो केवल धार्मिक केन्द्र मात्र होइन, भविष्यमा हाम्रो सन्तानका लागि अध्ययन, ध्यान, सामुदायिक क्रियाकलाप र सांस्कृतिक धरोहर सिक्ने थलो पनि बन्नेछ ।
त्यस अवसरमा वाचन शिरोमणि दिनबन्धु पोखरेलले तीन दिनसम्म चल्ने धार्मिक अनुष्ठानमा सबै नेपालीलाई सहभागी हुन आह्वान गरे । उनले यस महोत्सवलाई “आध्यात्मिक चेतनाको साझा मञ्च” भन्दै यसमार्फत सम्पूर्ण समुदायमा शान्ति, मैत्री र सहअस्तित्वको सन्देश फैलिने विश्वास व्यक्त गरे ।
उनले भने, “वैदिक गुरु र बौद्ध गुरुहरूलाई एउटै मञ्चमा ल्याउनु हाम्रो सामाजिक सामञ्जस्यताको प्रतिक हो । यसले नेपाली समुदायको एकता मात्र होइन, अष्ट्रेलियाको बहुसांस्कृतिक समाजलाई पनि हाम्रो सहिष्णुता र विविधताको सन्देश दिनेछ ।”
पोखरेलले महोत्सवलाई नयाँ पुस्ताका लागि समेत महत्त्वपूर्ण अवसरका रूपमा प्रस्तुत गर्दै भने, “हाम्रो संस्कृति, हाम्रो परम्परा र हाम्रो अध्यात्मिक मूल्यमान्यतामा युवा पुस्ताको सहभागिता बढाउनु आजको आवश्यकता हो । तीज, दशैं, दीपावली जस्तै अध्यात्मिक महोत्सवले उनीहरूलाई आफ्नै पहिचानसँग जोड्ने काम गर्नेछ ।”
उनले अन्त्यमा थपे, “उठ्नुस, जुट्नुस, कोही पनि नछुट्नुस् । यो महोत्सव हाम्रो साझा गौरव बन्नेछ र सिड्नीमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूको आत्मसम्मान र पहिचानलाई अझ मजबुत पार्नेछ । प्रेस मीट कार्यक्रममा बिभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।