नेभिगेशन
न्यू साउथ वेल्स

हिन्दु समाज अष्ट्रेलियाको बरउड तिज महोत्सव २०२५ भव्य तयारी

बरउड पार्कमा पशुपति नाथको झल्को महसुस गरिने   

सिड्नी। हरेक वर्षजस्तै यस वर्ष पनि हिन्दु समाज अष्ट्रेलियाले नेपालीहरूको महान् सांस्कृतिक पर्व तिज महोत्सव २०२५ भव्य रूपमा मनाउने भएको छ। बरउड काउन्सिलको सहयोगमा  तीज कार्यक्रम  २६ अगस्ट  मंगलवार बिहान १०:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म बरउड पार्कमा आयोजना हुनेछ।

यस वर्षको तीज महोत्सवमा विविध धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन्। मुख्य आकर्षणमा शानदार आतसबाजी प्रदर्शन, नेपालका ख्यातिप्राप्त कलाकारको लाईभ प्रस्तुति, सिड्नीका प्रतिभाशाली कलाकारहरुको सांस्कृतिक कार्यक्रम तथा पूरै दिन शिव पूजा रहनेछन्।

विशेष रूपमा कलाग्नि रुद्र पीठ, लड्केश्वर धामका पीठाधीश मुकुन्दा शर्माद्वारा पशुपतिनाथ र गङ्गा श्रृंगार आरती गरिनेछ। पूजाका लागि थाली र पूजाका सामग्रीहरु उपलब्ध गराइनेछ।

मनोरञ्जनको लागि DJ Nutcase ले दिनभर माहोल जमाउनेछन् भने बहुउद्देश्यीय स्टलहरु, शुद्ध शाकाहारी फूड स्टल, आइसक्रीम भ्यान र रोचक लक्की ड्र’ पनि रहनेछन्।

यस वर्षको कार्यक्रममा शिव पूजा — विधिपूर्वक सामूहिक पूजा लाइभ संन्ध्या आरती वातावरणलाई आध्यात्मिक रंग दिने भजन र दीप प्रज्वलनले  पशुपतिनाथ मन्दिरको झल्को दिनेछ ।  सो कार्यक्रममा चर्चित नायिका नीता ढुंगाना त्यस्तै गायिका  माधबी  अर्याल बिष्टको प्रस्तुति  रहनेछ । 
कार्यक्रमकी संयोजक उषा बरिया पोखरेलले आगामी महोत्सवबारे  भनिन्–“तीज महोत्सव २०२५ केवल चाड मात्र होइन, यो हाम्रो समृद्ध संस्कृति र परम्पराको उत्सव हो। समुदायलाई यति उत्साहका साथ एक ठाउँमा देख्न पाउनु हाम्रो लागि ठूलो सम्मान हुनेछ।”
नेपाली हिन्दू समाज अष्ट्रेलियाका अध्यक्ष लक्ष्मी बस्ताकोटीले  भनिन् - “यो महोत्सवले हाम्रो समुदायको एकताको भावना अझ बलियो बनाउनेछ र नयाँ पुस्तालाई हाम्रो परम्परासँग जोड्ने अवसर दिनेछ। हामी सबैले यो दिनलाई अविस्मरणीय बनाउनेछौं।”

संयोजक पोखरेलका अनुसार, यस वर्षको तिज महोत्सवमा सिर्जनात्मक प्रतियोगिता र आकर्षक पुरस्कारहरू समेत ब्यवस्था गरिएको  छ। अफिसियल फ्लायर प्रयोग गरेर सिर्जनात्मक र सूचनात्मक TikTok वा सोसल मिडिया भिडियो बनाउने बिजेतालाई पहिलो पुरस्कार: DT Travel बाट नेपाल रिटर्न टिकट (मूल्य $1,400) परम्परागत तिज गीतमा नृत्य प्रस्तुति दिने बिजेतालाई  दोस्रो पुरस्कार RB Diamond बाट तिलहरी (मूल्य $1,100) तिज लोकगीतमा गायन वा प्रस्तुति दिने बिजेतालाई  तेस्रो पुरस्कार: Burwood Mobile Shop बाट मोबाइल फोन (मूल्य $८००) पुरस्कार  पाउनेछन ।  प्रतियोगिता नियममा भिडियो Nepalese Hindu Society को फेसबुक पेजमा पोस्ट गर्नुपर्नेछ। साथै TeejMahotsav र #NepaleseHinduSociety ट्याग अनिवार्य गर्नुपर्नेछ ।  सहभागीले आफ्नो भिडियो पोस्टको मेसेज पठाएर पुष्टि गर्नुपर्नेछ। उत्कृष्ट भिडियोहरू कार्यक्रमकै दिन ठूलो पर्दामा देखाइनेछन् र विजेताहरूलाई लाइभ पुरस्कार प्रदान गरिनेछ।

हिन्दु समाज अष्ट्रेलियाले हरेक वर्ष तीज महोत्सव आयोजना गर्दै आएको छ, जसले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई आफ्नै भेष, भाषा, गीत र संस्कृतिसँग जोड्ने माध्यमको रूपमा काम गरेको छ। यसले नयाँ पुस्तालाई नेपाली सांस्कृतिक र धार्मिक सम्पदासँग परिचित गराउने महत्वपूर्ण भूमिका खेल्दै आएको छ। कार्यक्रमकी  सम्योजक  पोखरेलले  तिज हाम्रो परम्परा मात्र नभइ , हाम्रो पहिचान भएको बताइन्  । 
नि:शुल्क प्रवेश  रहेको उक्त  कार्यक्रममा  सहभागी हुन नेपाली समुदायलाई  पोखरेलले आग्रह   गरेकी छिन्    ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्