सिड्नी । सेन्ट्रल कोष्ट नेपाली समुदायको आयोजनामा र गुर्खा अटो एण्ड रिपेयरको प्रायोजनमा आउँदो १६ अगस्ट, शनिबार तीज विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ। सांझ ५:३० बजेबाट सुरु हुने कार्यक्रम Tuggerah Community Hall, 9 Anzac Road, Tuggerah 2259 NSW मा आयोजना हुने छ।
कार्यक्रमको प्रमुख आकर्षणको रूपमा नेपालका सुप्रसिद्ध गायक राजनराज शिवाकोटी सहभागी हुनेछन्। ‘कुटुमा कुटु’, ‘सुर्के थैली खै’, ‘गोजिमा दाम छैन’, ‘फुलबुट्टे सारी’, ‘चेप्टे चेप्टे पेरुङ्गो’, ‘चरि चट्ट परि भुरुरु’, ‘पूर्व पश्चिम रेल’, ‘रोज माया रोज’ जस्ता चर्चित तथा लोकप्रिय गीतहरूका श्रष्टा शिवाकोटीको प्रत्यक्ष प्रस्तुति कार्यक्रमको विशेष आकर्षण रहने आयोजकले जानकारी दिएको छ।
समुदायको तर्फबाट कार्यक्रमबारे जानकारी दिँदै सेन्ट्रल कोष्ट नेपाली समुदायका उपाध्यक्ष सन्तोष शर्माले तीजजस्तो मौलिक पर्वलाई प्रवासमा पनि एकता, संस्कार र सांस्कृतिक गौरवका रूपमा मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई नेपालीपनको अनुभूति लिन आग्रहसमेत गरेका छन्।
कार्यक्रममा संगीत, नृत्य, तीज विशेष गीतहरू, सांस्कृतिक प्रस्तुति, नेपाली भोजन र सामुदायिक समन्वयका विविध पक्षहरू समेटिने आयोजकले जनाएको छ। अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव र सांस्कृतिक समृद्धिको सन्देश फैलाउने यो कार्यक्रम सबैका लागि खुला रहेको छ।