नेभिगेशन
न्यू साउथ वेल्स

एकताबद्ध र पारदर्शी संस्थाको रूपमा एनआरएनएलाई अगाडि बढाइनेछ - संयोजक थापा 


सिड्नी । महेशकुमार श्रेष्ठ नेतृत्वको एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद (ICC) ले अष्ट्रेलियामा एकता अधिवेशन गराउने जिम्मेवारी पाएका सिड्नीका बिवेक थापाले आफ्नो संयोजकत्वमा Non Resident Nepali Association (NRNA) Australia दर्ता गरेका छन् । यहि जुलाई १८ तारिखका दिन अष्ट्रेलियामा दर्ता गरिएको सो नयाँ एनआरएनएको टिममा ३५ जना तदर्थ सदस्य र ८ जना सल्लाहकार रहेका छन् । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदमा बिबाद बल्झिदै गएपछि यसको बाछिटा विभिन्न देशहरुमा देखिन थालेको छ । त्यसको कारणले गर्दा अष्ट्रेलियामा पनि नयाँ एनआरएनएको स्थापना हुन गएको छ । 
“समग्र गैर-आवासीय नेपाली समुदायको साझा आवाज बन्न सक्ने विश्वासका साथ, अष्ट्रेलियामा समावेशी, सर्वपक्षीय र एकताबद्ध संगठन निर्माणको लागि विवेक थापालाई यो जिम्मेवारी दिइएको महेश श्रेष्ठ नेतृत्वको एनआरएनएले जनाएको छ ।


ओसिनिया क्षेत्रीय संयोजक इर्साद अहमद संस्थालाई गतिशील पारदर्शी एबं समावेशी बनाउन एनआरएनए अष्ट्रेलियाको बर्तमान कार्यसमिति लाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको र एकपक्षीय निर्णयका आधारमा संस्थालाई अगाडी बढाइएकोले उच्चस्तरीय समितिको सिफारिसअनुसार विवेक थापाको संयोजकत्वमा समिती गठन गरिएको  बताउछन् । उनि भन्छन् - ICC भित्र विचार फरक भए पनि अष्ट्रेलियामा एनआरएनएको एकता अपरिहार्य छ । हाम्रो सामाजिक एकता र भाईचाराको संस्कृति लाई कायम राख्दै हाम्रो समाजलाई अगाडी बढाउन यस संस्थाका संरक्षक, पूर्व अध्यक्ष, भूतपूर्व र वर्तमान पदाधिकारी तथा सबै समुदाय नेतृत्वकर्ताहरूको यसमा सक्रिय सहभागिताको अपेक्षा हामीले राखेका छौ । 
एकता महाधिवेशन लगायत संस्थासंग समन्धित विभिन्न विषयहरुका बारेमा जानकारी दिने उद्देस्यले यहि जुलाई २० तारिख आईतवार सिड्नीमा पत्रकार सम्मेलनमा संयोजक थापाले विश्वमै उदाहरणीय राष्ट्रिय समन्वय परिषदको रुपमा आफुलाई दर्ज गरेको एनआरएनए अष्ट्रेलियाको यहाँसम्मको यात्रालाई साथ र सहयोग पुर्याउने सबैप्रति हार्दिक आभार व्यक्त गरे । उनले भने - यो समितिले समावेशी र सर्वपक्षीय सहभागितामा आधारित ‘एकता अधिवेशन’ सम्पन्न गरि एनआरएनए अष्ट्रेलियालाई सबै गैर-आवासीय नेपालीहरूको साझा आवाज बनाउने उद्देश्यसहित एकताबद्ध र पारदर्शी संस्थाको रूपमा अगाडि बढाइनेछ ।
गत मे ३–४, २०२५ मा काठमाडौंमा सम्पन्न एनआरएनएको “एकता महाधिवेशन”बाट महेश कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । सोही महाधिवेशनको भावना अनुसार, अष्ट्रेलियामा पनि सबै पक्षको सहमति र सहभागितामार्फत नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्न लागिएको बताइएको छ ।
 नयाँ सदस्य शुल्क १५ डलर तोकेर शुल्क यो एनआरएनएले अनलाईनमा सदस्यता समेत खुल्ला गरेको छ । एनआरएनएको अन्तराष्ट्रिय परिषद ICC मा शेष घलेले गत मे ३–४, २०२५ मा काठमाडौंमा सम्पन्न गराएको एकता महाधिवेशनले महेश श्रेष्ठ लाई अध्यक्ष बनाएको थियो भने डा बद्री केसी नेतृत्वको एनआरएनएले आगामी अक्टोबरमा अधिवेशन गरेर मात्र अर्को टिमलाई नेतृत्व हस्तान्तरण गर्ने अडान लिदै आएको छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विधाराधिन छ । अनिल पोखरेल नेतृत्वको अष्ट्रेलिया एनआरएनएको यहि जुलाई २६ मा निर्वाचन हुदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्