सिड्नी। नेपाली समुदायको खेलकुद उर्जा र एकताको प्रतीकस्वरूप नेपाल भलिबल संघ अष्ट्रेलिया (NVAA) को आयोजनामा ‘Annual Awards Night 2025’ शनिबार सिड्नीको इन्द्रेणी फङ्सन सेन्टर, रकडेलमा भव्य रुपमा सम्पन्न भएको छ ।
भलिबल खेलको माध्यमबाट नेपाली समुदायलाई समेट्ने उद्देश्य अनुरूप स्थापना भएको नेपाल भलिबल संघ अष्ट्रेलियाले Celebrating Volleyball Vibes in Sydney!” भन्ने नाराका साथ नेपाली समुदायमा खेलकुद, एकता, योगदान र गौरवको सशक्त अभिव्यक्ति प्रस्तुत गर्यो । कार्यक्रममा प्रमुख अतिथि अष्ट्रेलियास्थित नेपालका पूर्व वाणिज्यदूत दीपक खड्काले भलिबलजस्तो लोकप्रिय खेललाई अष्ट्रेलियामा नेपाली समुदायले जुन शान, ऊर्जा र योजनाबद्ध रूपमा अगाडि बढाइरहनु भएको छ, त्यो अत्यन्त प्रेरणादायक रहेको बताउदै अष्ट्रेलियामा भलिबलको बिकास गर्न योगदान पुर्याउने स्व: पत्रकार टिका कार्कीलाई सम्झिए । 
त्यस्तै बिशेष अतिथि गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले खेलकुदले समुदायलाई सकारात्मक मार्गमा डोर्याउँने बताउदै NRNA अष्ट्रेलिया यस्ता गतिबिधीहरूमा सधैं साथ रहने प्रतिबद्धता जनाए ।
कार्यक्रमको अध्यक्षता गरेका NVAA अध्यक्ष दीपक क्षेत्रीले संस्थाको स्थापना कालदेखि वर्तमानसम्मको यात्रा र संस्थाको लक्ष्यहरूबारे प्रकाश पारे । उनले भने - यो पुरस्कार केही पनि होइन, हामी सबै बिजेता हौ । नेपाली खेलकुद र समुदायप्रतिको हाम्रो सामूहिक समर्पणले सन २०१८ स्थापना भएको NVAA ले आज संस्था र समुदायको साझा गर्व गर्न लायक बन्न पुगेकोमा सबैलाई धन्यवाद दिए । कार्यक्रममा NVAA का उपाध्यक्ष मुक्ति रोकाले उपस्थित सम्पूर्ण खेलप्रेमी, स्वयंसेवक, समुदायका अगुवा, खेलाडीहरुलाई धन्यवाद दिए । 
सो अवसरमा उत्कृष्ट पुरुष तथा महिला खेलाडी, प्रशिक्षक, टिम, स्वयंसेवक तथा विभिन्न योगदान पुर्याउनेलाई ट्रफी, प्रमाणपत्र सहित विशेष सम्मान प्रदान गरिएको थियो । 
कार्यक्रममा पूर्व NRNA अध्यक्ष नन्द गुरुङ, नेपाल भलिबल संघ अष्ट्रेलिया (NVAA) का सल्लाहकार तथा सामाजिक अभियन्ता बिष्णु हमाल तमु समाज सिड्नीका अध्यक्ष ह्युपति गुरुङ, ANJA अध्यक्ष कृष्ण तिवारी,एन्जाका सल्लाहकार डा. राजु मानन्धर, बागलुङ समाज अष्ट्रेलियाका अध्यक्ष विकास सापकोटा, पूर्व NVAA अध्यक्ष कृष्ण सुनार, राष्ट्रिय भलिबल खेलाडीहरु हिमाल मल्ल सरस्वती चौधरी, प्रतिभा माली लगायत विशिष्ट व्यक्तिहरूको उलेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली नृत्य, गीत र सांस्कृतिक प्रस्तुतीले सहभागीहरुलाई बिशेष मनोरन्जन प्रदान गरेको थियो ।