नेभिगेशन
न्यू साउथ वेल्स

अष्ट्रेलियामा निन्फाले अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस - २०२५ मनाउदै

सिड्नी। नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियाको आयोजनामा आउँदो १० अगस्ट २०२५ आइतबारका दिन “विश्व आदिवासी जनताको अन्तर्राष्ट्रिय दिवस” अष्ट्रेलियाको पिटर्सह्याम टाउन हल (107 Crystal Street, Petersham NSW 2049) मा भव्य सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ।

“आदिवासी जनताको आत्मनिर्णयको अधिकार: खाद्य सुरक्षामा मार्गचित्र” भन्ने नारासहित आयोजना हुने यो कार्यक्रम साँझ ५ बजे सुरु हुने बताइएको छ।

कार्यक्रममा नेपाली आदिवासी जनजातिहरूको सांस्कृतिक पहिचान झल्काउने लोकनृत्य, गीत-संगीत र परम्परागत पोशाक प्रदर्शन गरिनेछ। नेपाली झण्डासहित अष्ट्रेलिया र अन्य मुलुकका आदिवासी समुदायहरूलाई समेत समेट्नेगरी विविध सांस्कृतिक गतिविधिहरू प्रस्तुत गर्न  लागिएको  निन्फाका अध्यक्ष  लक्षमण  गुरुङले  नेपाल न्युज अष्ट्रेलियालाई  बताए  ।  

कार्यक्रममा अष्ट्रेलियामा बसोबास गर्ने नेपाली आदिवासी समुदायको सांस्कृतिक झाँकी, परम्परागत वेशभूषा, र मौलिक प्रस्तुतीहरू रहनेछ। विशेष आकर्षणका रूपमा गायक गणेश गुरुङ र भीमु गुरुङ को सांगीतिक प्रस्तुति रहनेछ भने, विश्व भक्त दुलाल (आहुती ) प्रमुख वक्ताको रूपमा उपस्थित हुनेछन्। त्यस्तै  अन्य विशिष्ट अतिथि, कलाकार, तथा स्थानीय नेपाली समुदायका प्रतिनिधिहरूको समेत    उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। यो कार्यक्रमले नेपाली आदिवासीहरूको सांस्कृतिक पहिचान, आत्मसम्मान र अधिकारको आवाज बुलन्द गर्ने विश्वास लिइएको छ।

नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियाले विगत वर्षहरूझैं यस वर्ष पनि समुदायबीच सहकार्य र ऐक्यबद्धता बढाउने उद्देश्यसहित यो कार्यक्रम आयोजना गर्न लागेको हो।

आयोजक संस्थाले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदाय   तथा आदिवासी समुदाय, सामाजिक अभियन्ता, सांस्कृतिक प्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन बिशेष अनुरोध समेत  गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्