सिड्नी । वीरेन्द्रनगर, सुर्खेतमा महिला स्वास्थ्य सशक्तिकरणलाई लक्षित गर्दै दुईदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविर जेष्ठ ३० र ३१ गते दुई दिनसम्म सञ्चालन भएको थियो।
शिविर एनआरएनए वुमेन्स फोरम – नारी निकुञ्ज अष्ट्रेलियाकी अध्यक्ष सङ्गीता चापागाईंको नेतृत्वमा, सुन्दर कर्णाली संस्था तथा माया अस्पताल तथा रिसर्च प्रा.लि.को सहकार्यमा सम्पन्न भएको हो।
शिविरमा कुल २४१ जना महिलाहरूले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। तीमध्ये ५० जना महिलामा विभिन्न स्वास्थ्य समस्या देखिएको पुष्टि गरिएको छ। स्वास्थ्य परीक्षणका क्रममा एक महिलामा स्तन बायोप्सी (biopsy) आवश्यक देखिएपछि संस्थामार्फत सो सेवा निःशुल्क प्रदान गरिएको हो।
त्यस्तै, एक महिलामा सामान्य खालको शल्यक्रिया आवश्यक रहेको चिकित्सकले औंल्याएका छन् भने ५ जना महिलामा रोगका लक्षण देखिएकाले थप परीक्षण र निगरानी गर्न सिफारिस गरिएको छ। बाँकी महिलाहरूलाई चिकित्सकको परामर्श अनुसार उपचार र अनुगमनका लागि अन्य स्वास्थ्य केन्द्रमा सिफारिस गरिएको छ।
शिविरमा निःशुल्क भिडियो एक्स-रे सेवा, नियमित स्त्रीरोग परीक्षण, रक्तचाप, मधुमेह, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परीक्षण तथा स्वास्थ्य परामर्शसमेत उपलब्ध गराइएको थियो।
बालबालिकालाई नयाँ जीवनको उज्यालो
उक्त स्वास्थ्य पहलअन्तर्गत नेपालका सामाजिक र आर्थिक दृष्टिले पछाडि पारिएका समुदायहरूका बालबालिकाहरूलाई लक्षित गर्दै कान शल्यक्रिया (ear surgery) कार्यक्रम पनि सञ्चालन गरिएको छ।
एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक सङ्गीता चापागाईं र राज्य महिला संयोजक प्रियाशा नेपालको विशेष पहल र सहयोगमा हालसम्म ५ जना बालबालिकाको सफल शल्यक्रिया सम्पन्न भइसकेको छ।
यी शल्यक्रियाबाट बालबालिकाहरूमा श्रवण क्षमता पुनःस्थापना भई उनीहरूको जीवनमा सञ्चार, शिक्षा र सामाजिक सहभागितामा नयाँ आशा र ऊर्जा थपिएको छ।
कार्यक्रमको समापनमा अध्यक्ष चापागाईंले सफल आयोजनामा योगदान पुर्याउने सम्पूर्ण सहयोगी संस्था, चिकित्सक टोली, स्वयंसेवकहरू, स्थानिय प्रशासन र सहभागीहरूप्रति आभार व्यक्त गरिन्। उनले भनिन्,
“महिलाको स्वास्थ्य सशक्तिकरणमार्फत नै समग्र परिवार र समुदायको सशक्तिकरण सम्भव छ। हामी आगामी दिनमा पनि कर्णाली प्रदेशका दुर्गम क्षेत्रहरूमा यस्ता निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै जानेछौं।”
कार्यक्रमले स्वास्थ्य सेवाबाट वञ्चित महिला र बालबालिकालाई प्रत्यक्ष लाभ पुर्याउनुका साथै समाजमा महिला स्वास्थ्यप्रति सकारात्मक सोच र चेतनाको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ। बिगतका बर्षहरुमा पनि नारी निकुञ्ज अष्ट्रेलियाले यस्तै परोपकारी काम गर्दै आएको छ ।