सिड्नी — तामाङ समुदायको अग्रणी संस्था तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ नेतृत्व चयन गरिएको छ। सिड्नीमा यही २२ जुनका दिन सम्पन्न अधिवेशनबाट राज पाख्रिन सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्।नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा ग्यानक वाइबा, सृजना गोले र मोहन तामाङ चयन भएका छन्। महासचिवमा योगेश सांगे योञ्जन, सचिवमा डोमा तामाङ, कोषाध्यक्षमा सूर्य तामाङ र सह–कोषाध्यक्षमा नरेश लामा तामाङ निर्वाचित भएका छन्।
सांस्कृतिक सचिवको जिम्मेवारी सुनिता लामालाई दिइएको छ भने सह–सांस्कृतिक सचिवमा लोब्साङ लामा चयन भएका छन्। युवा संयोजकको रूपमा उमेश तामाङले कार्यभार सम्हाल्ने भएका छन्। कार्यसमिति सदस्यहरूमा सुजन लोप्चन, कपिल तामाङ, छेडुप पाख्रिन, फ्युबा तामाङ र अनिता पाख्रिन निर्वाचित भएका छन्।
निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न गर्न गठित समितिमा अरुण तामाङ, टिकाराम तामाङ र किशोर लामा रहेका थिए। निर्वाचन समिति संयोजक अरुण तामाङले तामाङ भाषामै पद तथा गोपनीयताको शपथ गराउँदै नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए।
अधिवेशनको उद्घाटन सत्र संस्थाका पूर्वअध्यक्ष विशाल तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल तामाङ घेदुङका संस्थापक सदस्य हेमबहादुर तामाङ, नेप्लिज इन्डिजिनियस नेसनालिटिज फोरम अष्ट्रेलिया (NINFA) का अध्यक्ष लक्ष्मण गुरुङ, पूर्वअध्यक्षद्वय सुदर्शन थापा मगर र चित्रबहादुर तुम्बाहाम्फे, तमु समाज सिड्नीका अध्यक्ष हिउपति गुरुङ, याक्थुङ चुम्लुङ अष्ट्रेलियाका अध्यक्ष शशी सुब्बा, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष छिरिङ तेन्जिङ लामा, लुक्ला टिभीका प्रमुख डा. राजु मानन्धर, एनआरएनए क्षेत्रीय संयोजक एर्शद अहमद , र जनसम्पर्क समिति अष्ट्रेलियाका सुरेश रनसिङ गुरुङलगायत विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नयाँ नेतृत्व चयनसँगै संस्थाले तामाङ समुदायको अधिकार, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
नयाँ कार्यसमितिको कार्यकाल २०२५ देखि २०२७ सम्म दुई वर्षको रहनेछ ।