सिड्नी। नेपाली कला, साहित्य, भाषा र संस्कृतिको प्रवर्द्धनमा समर्पित संस्था नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान (NKSSP) को आयोजनामा हिजो जुन २१ तारिक शनिबार २१२औँ भानु जयन्ती सिड्नीको अबन कम्युनिटी सेन्टरमा भव्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि अष्ट्रेलियाली सांसद तथा न्यू साउथ वेल्स राज्य सरकारकी संसद सदस्य Julia Finn ले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवासमा संरक्षण तथा प्रवर्द्धन गर्ने कार्यमा नेपाली समुदायको सक्रियता अत्यन्त प्रेरणादायी भएको बताइन् ।
कार्यक्रमका विशेष अतिथि अष्ट्रेलियास्थित नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई आम जनतासम्म पुर्याएर एकताको सूत्रमा बाँध्ने कार्य गरेको चर्चा गर्दै यस्ता कार्यक्रमहरू प्रवासमा रहँदा आफ्नो पहिचान जोगाउन थप मद्दत् पुग्ने बताए । साथै उनले आफ्ना वृद्ध बुवालाई सम्झदै एउटा कबिता पनि बाचन गरे ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले भानुभक्त आचार्यको सम्झना गर्दै प्रवासमा आफ्नो मौलिक संस्कृति र भाषा बचाउनु हामी सबैको साझा जिम्मेवारी रहेको बताए ।

कार्यक्रममा नेपाली साहित्य र भाषाको संरक्षण तथा प्रवर्द्धनमा दीर्घकालीन योगदान दिएकी जनकी रिमाल पौडेल तथा युबा कलाकार सम्राट गुरुङलाई यस वर्षको प्रतिष्ठित ‘भानु सम्मान–२०८२’ प्रदान गरिएको थियो । 
कार्यक्रममा नेपालबाट आउनुभएका अभिभावक तथा साहित्यकार ज्ञानु वाकर पौडेल लगायतले भानु कविताको वाचनका साथै बिभिन्न उमेर समूहका नेपाली बालबालिकादेखि युवाहरूले सांस्कृतिक नृत्य,, र सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा NRNA अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्वअध्यक्ष नन्द गुरुङ, तमु समाज अष्ट्रेलियाका अध्यक्ष हेउपति गुरुङ, समाजसेवी देव बहादुर गुरुङ, ANJA अध्यक्ष कृष्ण तिवारी र अन्य विशिष्ट प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ANJA सल्लाहकार डा. राजु मानन्धरले नेपाल भाषा (नेवारी) मा र हेमुपति गुरुङले गुरुङ भाषामा कविता वाचन गरी कार्यक्रमलाई बहुभाषिक विविधताको आभास दिएका थिए ।
साथै उक्त अवसरमा चित्रकार राजेश मानन्धरको सम्मान र एकल चित्रकला प्रदर्शनी समेत गरिएकोथियो । ललितकला क्याम्पस, त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक, ख्यातिप्राप्त पानीरङ चित्रकार तथा व्यङ्ग्यचित्रकार राजेश मानन्धरलाई नेपाली चित्रकला क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै मायाको चिनोद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा मानन्धरको नेपाल तथा अष्ट्रेलियामा सिर्जित उत्कृष्ट पानीरङ चित्रहरूको एकल प्रदर्शनीका रूपमा सार्वजनिक गरिएको थियो, जसले नेपाली कलाको मौलिक सौन्दर्य प्रस्तुत गरेको थियो । 
कार्यक्रमको अध्यक्षता NKSSP की अध्यक्ष सुजाता बस्नेत के.सीले गरेकी थिइन । । उनले प्रवासमा यस्ता कार्यक्रमहरू नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जीवन्त अभियान भएको उल्लेख गर्दै अतिथि र स्वयंसेवक लगायत प्रायोजकलाई विशेष धन्यवाद दिइन् ।
सहभागिहरुले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमा भाषा, संस्कृति र साहित्यप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै सामुदायिक एकता र राष्ट्रिय पहिचान सुदृढ पार्न नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानको भूमिकाको प्रशसा गरेका थिए । कार्यक्रम सञ्चालन कल्याणी बरतौला र रामहरि आचार्यले गरेका थिए ।
संन् २००८ मा स्थापित नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले हरेक बर्ष सिड्नीमा भानु जयन्ति मनाउदै आएको छ ।