सिड्नी। अन्तर्राष्ट्रिय स्तरको व्यापारिक मेला Global Sourcing Expo Sydney 2025 मा नेपालले आफ्नो मौलिक संस्कृति झल्काउने हस्तकला, कपडा तथा सजावट सामग्रीको भव्य प्रदर्शन गरेको छ। जुन १७ देखि १९ तारिखसम्म सिड्नीको ICC थिएटर, डार्लिङ हार्बर मा जारी तीन दिने प्रदर्शनीमा नेपालबाट विभिन्न हस्तकला उत्पादक तथा व्यवसायीहरूले सहभागिता जनाएका छन्।
जुन १७ तारिखदेखि सुरु भएको मेलामा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव तथा न्यू साउथ वेल्स राज्यका लागि नेपाली मानार्थ वाणिज्यदूत संजीव शर्माले हिजो नेपाली स्टलको भ्रमण गर्दै सहभागितालाई प्रशंसा गरेका थिए।
राजदूत यादवले नेपाली हस्तकलाले अष्ट्रेलियाली बजारमा राम्रो सम्भावना राखेको बताउँदै भनिन्, “हाम्रो संस्कृति र सिर्जनशीलता संसारमा चिनाउने यो एक राम्रो माध्यम हो। यस्तो अवसरलाई व्यावसायिक रूपान्तरणमा बदल्न हामी सबै जुट्नुपर्छ।”
त्यसैगरी, वाणिज्यदूत संजीव शर्माले पनि नेपाली स्टलको भ्रमण गर्दै नेपाली व्यवसायीहरू, उद्योग प्रतिनिधिहरूसँग भेटवार्ता गरे । उनले अष्ट्रेलियामा नेपाली उत्पादनहरूको माग बढ्दो रहेको र यस्तो प्रदर्शनीमार्फत नयाँ बजार फेला पार्ने संभावना बलियो रहेको उल्लेख गरे।
नेपाल सरकार उद्योग विभागका महानिर्देशक श्री राजेश्वर ज्ञवालीले Global Sourcing Expo Sydney 2025 को अवसरमा नेपाली स्टलहरूको अवलोकन गर्दै यस्ता अन्तर्राष्ट्रिय प्रदर्शनीहरू हाम्रो निर्यात बजार विस्तार गर्न र ब्रान्ड नेपाललाई विश्वमा स्थापित गर्न महत्त्वपूर्ण अवसर हुने बताए । Global Sourcing Expo मा नेपालको सरकारी प्रतिनिधित्वमार्फत नीति–निर्माता र निजी क्षेत्रबीचको सहकार्यलाई प्रोत्साहन गर्दै निर्यात प्रवर्द्धनमा नीतिगत मार्गचित्र तय गर्ने अवसरहरू खुलाउने ज्ञवालीले बताए । 
राजदूत यादव नेपाल सरकार उद्योग विभागका महानिर्देशक ज्ञवाली तथा वाणिज्यदूत शर्माको उपस्थितिले नेपाली प्रतिनिधिमण्डललाई थप ऊर्जा दिएको गार्मेन्ट संघ नेपालका अध्यक्ष पशुपति देव पाण्डेले बताए ।
"नेपालको गार्मेन्ट उद्योग केवल व्यापारिक क्षेत्र नभई रोजगारी, दिगोपन, र सांस्कृतिक पहिचानको संवाहक पनि हो। यस्तो एक्स्पोले विश्व बजारमा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।" अध्यक्ष पाण्डेले बताए ।
नेपालको आकर्षण: हस्तकला, लुगा, सजावट सामग्री
प्रदर्शनीमा नेपालका स्टलहरूमा हातले बनेका धागोका कपडा, ढाका, पश्मिना, सजावट सामग्रीहरू प्रमुख आकर्षण बनेका छन्। अष्ट्रेलियाली उपभोक्ताहरू र थोक खरिदकर्ताहरूले नेपाली सामग्रिहरूमा चासो देखाएका छन् ।
Global Sourcing Expo मा मुख्यत: फेशन,, उपभोग्य सामग्री तथा घरेलु सजावटका सामग्रीहरूको व्यापारिक सञ्जाल निर्माण गर्ने लक्ष्यसहित आयोजना गरिएको यो मेला अन्तर्राष्ट्रिय खरिदकर्ताहरू र आपूर्तिकर्ताहरूको प्रमुख गन्तव्य बन्न पुगेको छ।
जुन १७ देखि १९ तारिखसम्म आयोजना भइरहेको यो अन्तर्राष्ट्रिय व्यापार मेला विश्वभरका आयातकर्ता, थोक विक्रेता र व्यवसायीहरूका लागि ठूलो व्यापारिक मंचको रूपमा परिचित छ। नेपालका हस्तकलाहरूलाई अष्ट्रेलियाली बजारमा स्थापित गराउन यस्ता कार्यक्रममा निरन्तरता दिनु आवश्यक छ। तीन दिने यो कार्यक्रम जुन १९ तारिखसम्म सञ्चालन हुनेछ।