सिड्नी । सिड्नीको नर्थ-वेस्ट क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सक्रियतामा ७२औं सगरमाथा दिवसको अवसर पारेर अष्ट्रेलियाको सर्वोच्च शिखर माउन्ट कोसियस्को (Main Range) को मे २९ तारिक सफल आरोहण गरेका छन् । १५ जना नेपाली आरोहीहरूले करिब २२ किलोमिटर दूरी हिउँले ढाकिएको बाटो हुँदै शिखरको सफल आरोहण गरेर सगरमाथा दिवस मनाएका छन् ।
यस अवसरमा सहभागीहरूले सगरमाथा दिवसको महत्व, तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको योगदान तथा प्रकृतिप्रतिको सम्मानलाई स्मरण गरेका थिए।
अष्ट्रेलियामा बसोबास गर्ने नेपाली मौसमविद् विमल के.सी. को नेतृत्वमा सन् २०११ देखि प्रत्येक वर्ष मे २९ तारिखका दिन निरन्तर रूपमा बिबिध कार्यक्रमको आयोजना गरी एभरेष्ट डे मनाउदै आएका छन् ।
उनका अनुसार, यो कार्यक्रमले नेपाली समुदायबीच एकता, साहस, प्रकृतिप्रतिको सम्मान र सगरमाथाको अन्तर्राष्ट्रिय पहिचानलाई प्रवर्द्धन गर्दै आएको छ।
आरोहण टोलीका एक सदस्य अर्जुन मणि पौडेलले शिखरको आरोहण निकै अविश्मरणिय रहेको नेपाल न्युज अष्ट्रेलियालाई बताए । पौडेलका अनुसार केही दिन अगाडि परेको पानीका कारण २२ किलोमिटरको दूरी नै हिउँले ढाकिएको थियो । कतै कतै त एक मिटर गहिराइको हिउँ छिचोल्दै यात्रा अगाडि बढाउनु परेको थियो । करिब ५ घण्टामा शिखरको चुचुरोमा पुगेपनि शिखर परिक्रमा गर्न करिब साढे आठ घण्टा लागेको पौडेलले बताए ।
सगरमाथा दिवस सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक संसारको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक सम्झनामा प्रत्येक वर्ष नेपाल र विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी सगरमाथा दिवस मनाइन्छ।