सिड्नी । नेपाली भाषा, साहित्य र युवापुस्तालाई प्रवासमा पनि प्रेरणा दिने हेतुले अष्ट्रेलियामा स्थापित नाइँ एकेडेमी अस्ट्रेलिया शाखाले नेपाली साहित्यकी कालजयी स्रष्टा पारिजातको ८८ औँ जन्म जयन्तीको अवसरमा सिड्नीमा एक विशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। यहि १९ अप्रिल २०२५, शनिबारका दिन गिलफल्ड स्थित गिलफल्ड कम्युनिटी हलमा हुने यस कार्यक्रममा ‘वर्ष युवा पुरस्कार २०२५’ पनि प्रदान गरिने अष्ट्रेलिया शाखाकी सस्थापक अध्यक्ष सिमा रोशीले नेपाल न्युज अष्ट्रेलियालाई बताइन् ।
कार्यक्रममा मुख्य अतिथिका रूपमा नाइँ एकेडेमी नेपालकी प्रमुख इन्दिरा प्रसाईँले भर्चुअल माध्यमबाट विशेष सम्बोधन गर्नेछिन्। कार्यक्रममा पुरस्कार वितरण, कविता वाचन, नृत्य र सङ्गीत प्रस्तुति, साथै नेपाली परिकारको स्वाद लिन पाइनेछ । त्यसैगरी, चर्चित नेपाली गायकद्वय निशा केसी र सुनिल कटुवालले आफ्नो साङ्गीतिक प्रस्तुति दिनेछन्।
अष्ट्रेलियामा क्रियाशील विभिन्न व्यवसायिक, सामाजिक तथा सञ्चार संस्थाहरूको सहकार्यमा हुने सो कार्यक्रममा सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई प्रबाशमा नेपाली कला सस्कृतिको जगेर्ना गरिदिनुहुन अध्यक्ष रोशीले सबैलाई आग्रह गरेकी छिन् । कार्यक्रम दिउँसो १२:३० देखि ४:३० बजेसम्म सञ्चालन हुनेछ।