सिड्नी । अस्ट्रेलियन नेपलिज जर्नलिस्ट एसोसियसन (एन्जा) र गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले अमेरिकामा रहेर नेपाली खेलकुदको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न योगदान पुर्याउँदै आएका तेक्वान्दो ग्राण्डमास्टर दिवाकर ‘डान’ महर्जन तथा समाज टाइम्सका प्रधान सम्पादक विष्णुहरि घिमिरेलाई सिड्नीमा संयुक्त रूपमा स्वागत तथा सम्मान गरेको छ।
कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष दिनेश पोखरेल, आईसीसी सदस्य राजेश केसी, एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष निजन चौलागाईं र एन्जा अध्यक्ष कृष्ण तिवारीले खादा लगाएर दुवै अतिथिलाई सम्मान गरेका थिए।
ग्राण्डमास्टर महर्जन र पत्रकार घिमिरे आगामी नोभेम्बर २८ र २९ तारिख मेलबर्नमा आयोजना हुने १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा सहभागी हुन अस्ट्रेलिया आएका हुन्।
कार्यक्रममा बोल्दै एनआरएनए आईसीसी उपाध्यक्ष दिनेश पोखरेलले अमेरिकामा रहेर पनि खेलकुदका माध्यमबाट नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उँचो बनाउन महर्जनले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए। उनले महर्जन नेपाली समुदायका लागि प्रेरणाका स्रोत भएको उल्लेख गर्दै उनको सम्मान गर्नु समग्र नेपाली समुदायको गौरवको विषय भएको धारणा राखे।
पोखरेलले मेलबर्नमा आयोजना हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपप्रति आफ्नो पूर्ण समर्थन रहने बताउँदै प्रतियोगिताको सफल आयोजनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सम्मानपछि मन्तव्य राख्दै ग्राण्डमास्टर महर्जनले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव दिलाउने र विश्वस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले २६ वर्षअघि नेपालबाटै आईओएफटीसीको सुरुवात गरेको बताए। विदेशमा रहे पनि नेपालको तेक्वान्दो खेलको विकास, विस्तार र खेलाडीको क्षमता अभिवृद्धिका लागि आफू निरन्तर सक्रिय रहेको उनको भनाइ थियो।
महर्जन अमेरिकामा तेक्वान्दो स्कुल स्थापना गर्ने पहिलो नेपाली हुन्। उनले सन् १९९५ मा अमेरिकाको ओरेगन राज्यस्थित पोर्टल्यान्डमा ‘यूए वर्ल्ड क्लास तेक्वान्दो हलिउड’ स्थापना गरेका थिए। सन् २००० देखि आईओएफटीसी आयोजना गर्दै आएका उनी उक्त प्रतियोगिताका निर्देशकसमेत हुन्।
महर्जनका अनुसार यस वर्षको प्रतियोगितामा विभिन्न देशका करिब दुई सय खेलाडीले सहभागिता जनाउनेछन्। प्रतियोगिताको रजतजयन्तीका अवसरमा १५औँ संस्करण गत वर्ष नेपालमा आयोजना गरिएको थियो।
कार्यक्रममा समाज टाइम्सका प्रधान सम्पादक घिमिरेले नेपाली पत्रकार र सञ्चारमाध्यमबीचको सहकार्यले प्रवासमा रहेका नेपालीका आवाज, समस्या, सम्भावना र सफलतालाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए। अस्ट्रेलियाको नेपाली समुदायले पत्रकारिता, खेलकुद तथा सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिलाई निरन्तर समाचारको विषय बनाउनुपर्ने धारणा राखे।
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष निजन चौलागाईंले विदेशमा नेपालीले गर्ने योगदानलाई परम्परागत श्रम र पेसाको सीमित दृष्टिकोणबाट मात्र हेर्न नहुने बताए। तीन दशकअघि नै अमेरिकामा तेक्वान्दो स्कुल स्थापना गरेर नेपाली खेलकुदको पहिचान विस्तारमा लागेका महर्जनलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको उनको भनाइ थियो।
त्यसैगरी, एन्जा अध्यक्ष कृष्ण तिवारीले आठौँ डान प्राप्त महर्जनको उपलब्धि, समर्पण र सफलताले नेपाली समुदायको शिर उँचो बनाएको बताए। विदेशमा रहेर पनि नेपालको नाम र प्रतिष्ठाका लागि निरन्तर काम गरिरहेका व्यक्तित्वलाई सम्मान तथा प्रोत्साहन गर्नु आवश्यक रहेको उनले उल्लेख गरे।
कार्यक्रममा सहभागी वक्ताहरूले खेलकुद र पत्रकारितामार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मानले प्रवासमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।