नेभिगेशन
एसिटी

क्यानबेरामा नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाली कलाकारको साथ, १५ हजार डलर संकलन

क्यानबेरा ।  नेपालमा बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत र पुनःस्थापनाका लागि अस्ट्रेलियाको क्यानबेरामा आयोजित एक सांस्कृतिक कार्यक्रमबाट करिब १५ हजार अस्ट्रेलियन डलर संकलन भएको छ।

आर्ट साउण्ड एफएम र नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानको सहकार्यमा शनिबार टर्नरस्थित पोलिस ह्वाइट ईगल क्लबमा आयोजित ‘नेपाल फ्लड डिजास्टर अपिल’ कार्यक्रममा नेपाली तथा अस्ट्रेलियाली समुदायका प्रतिनिधि, कलाकार, सामाजिक अभियन्ता र सर्वसाधारण सहभागी भएका थिए।att._rc0xlXHP3-KKx_-9LJXOusLzBgkl21VPxCM3nECdkw-1789940509.jpeg

कार्यक्रममा नेपाली र अस्ट्रेलियाली कलाकारले संगीत, कविता तथा नाटकमार्फत नेपालका बाढी तथा पहिरोपीडितप्रति ऐक्यबद्धता जनाएका थिए। कार्यक्रममा प्रस्तुत सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसँगै नेपाली खानाका परिकार र सामुदायिक भेटघाटसमेत आयोजना गरिएको थियो।

आयोजकका अनुसार संकलित रकम इमर्जेन्सी एक्सन अलायन्सको ‘नेपाल फ्लड डिजास्टर अपिल’ तथा नेपालका प्रधानमन्त्री राहत कोषमार्फत प्रभावित समुदायको राहत र पुनःस्थापनाका लागि उपलब्ध गराइनेछ।

जलवायु परिवर्तनप्रति चिन्ता

कार्यक्रममा जलविज्ञ तथा नेपाली समुदायका अगुवा डा. दुर्गा दत्त कँडेलले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालले सामना गरिरहेको विपद्को जोखिमबारे चर्चा गरे।

नेपालमा बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता भौगोलिक रूपमा संवेदनशील मुलुकका समस्यालाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनुपर्ने बताए।

उनले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् व्यवस्थापनका लागि स्थानीय नेतृत्वदेखि अन्तर्राष्ट्रिय समुदायसम्मको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

समाचारका शीर्षक फेरिए पनि सहयोग रोकिँदैन’

आर्ट साउण्ड एफएमका अध्यक्ष स्टिभ लिटलले नेपालप्रति संस्थाको ऐक्यबद्धता व्यक्त गर्दै मानवीय संकटका बेला समुदायबीचको सहकार्य महत्त्वपूर्ण हुने बताए।

विपद्सम्बन्धी समाचार केही समयपछि सञ्चारमाध्यमका शीर्षकबाट ओझेलमा पर्न सक्ने भए पनि प्रभावित समुदायलाई आवश्यक सहयोग निरन्तर रहनुपर्ने उनको भनाइ थियो। नेपाललाई आवश्यक परेको समयमा सहयोग जारी राख्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

कार्यक्रमबाट करिब १५ हजार अस्ट्रेलियन डलर संकलन भएको जानकारी दिँदै लिटलले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

अर्थशास्त्री तथा नेपाली समुदायका अगुवा डा. कृष्ण हमालले विपद्को कठिन समयमा सहयोग जुटाउन साथ दिने नेपाली तथा अस्ट्रेलियाली समुदाय, कलाकार, स्वयंसेवक र आयोजकप्रति धन्यवाद व्यक्त गरे।

उनले संकलित रकमले नेपालका विपद्प्रभावित समुदायको तत्कालीन राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाली र अस्ट्रेलियाली कलाकारको प्रस्तुति

आश्मा बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा अस्ट्रेलियाली ब्यान्ड ‘द डेभिल एन्ड द बन्नी’ र ‘द डेजी कलेक्टिभ’ लगायतका कलाकारले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिएका थिए।att.cdons-BFH3mMw3zJPq4EJU7WcAnAPSMXlK48ubhVF4U-1789940558.jpeg

नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानका कलाकार शशांक अधिकारी, नवीन अधिकारी, उषा दवाडी र अर्णव सम्मान पौडेलले बाढी तथा विपद्सम्बन्धी नाटक प्रस्तुत गरेका थिए। यज्ञ अधिकारीले कविता वाचन गरेका थिए भने जिसस भण्डारीले बाँसुरी वादन प्रस्तुत गरे।

कार्यक्रममा नेपाली खानाका परिकार, प्रत्यक्ष संगीत र सामुदायिक भेटघाटले सहभागीलाई जोडेको थियो। कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसक्ने दर्शकका लागि आर्ट साउण्ड एफएम तथा युट्युबमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको थियो।

राहतसँगै ऐक्यबद्धताको सन्देश

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित समुदायका लागि आयोजित कार्यक्रम राहत संकलनमा मात्र सीमित रहेन। यसले अस्ट्रेलियामा रहेका नेपाली र अस्ट्रेलियाली समुदायबीचको सहकार्य तथा विपद्का बेला मानवीय ऐक्यबद्धताको सन्देशसमेत दिएको आयोजकको भनाइ छ।

नेपाल विपद्को सामना गरिरहेका बेला क्यानबेरामा विभिन्न समुदायका कलाकार, सामाजिक अभियन्ता र सर्वसाधारण एकै ठाउँमा भेला भएर सहयोग जुटाउनुले दुई समुदायबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप बलियो बनाएको आयोजकले जनाएको छ।

संकलित करिब १५ हजार अस्ट्रेलियन डलर नेपालका बाढी तथा पहिरो प्रभावित समुदायको राहत र पुनःस्थापनामा उपयोग हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्