नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा नेपाली हिन्दू समाज अस्ट्रेलियाको तीज : पशुपतिनाथको झल्को दिने साँझको आरतीदेखि आतसबाजीसम्म

सिड्नी ।  नेपाली हिन्दू समाज अस्ट्रेलियाको आयोजनामा सिड्नीमा यस वर्ष पनि भव्य ‘तीज महोत्सव २०२६’ आयोजना हुने भएको छ। नेपाली मौलिक संस्कृति, धार्मिक परम्परा र तीजको उत्सवलाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको तीज कार्यक्रम यसपटक अझ विशेष बनाइने आयोजकले जनाएको छ।

सेप्टेम्बर १४, २०२६ सोमबार सिड्नीको Burwood Park, NSW मा बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने महोत्सवमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै नेपाली समुदायलाई मनोरञ्जन र आपसी भेटघाटको अवसरसमेत प्रदान गरिनेछ।

महोत्सवमा शिव पूजासँगै नेपाली मौलिक संस्कृति झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछन्। कार्यक्रमको विशेष आकर्षणका रूपमा साँझ पशुपतिनाथमा हुने साँझको आरतीको झल्को दिने गरी विशेष आरती आयोजना गरिने आयोजकले जनाएको छ। आरतीपछि आतसबाजी (Fireworks) समेत गरिने भएकाले साँझको कार्यक्रम थप आकर्षक बन्ने अपेक्षा गरिएको छ।

नेपाली हिन्दू समाज अस्ट्रेलियाकी अध्यक्ष लक्ष्मी बस्ताकोटीका अनुसार समाजले नेपाली समुदायलाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोडिराख्ने उद्देश्यले हरेक वर्ष तीजका अवसरमा कार्यक्रम आयोजना गर्दै आएको छ।

“विदेशमा बसे पनि हाम्रो संस्कृति, संस्कार र परम्परालाई जीवन्त राख्नु हाम्रो जिम्मेवारी हो। तीज केवल धार्मिक पर्व मात्र नभई नेपाली दिदीबहिनी तथा सम्पूर्ण समुदायलाई एउटै थलोमा जोड्ने महत्वपूर्ण अवसर पनि हो। यस वर्षको कार्यक्रमलाई सबै पुस्ताले रमाइलोसँग सहभागी हुन सक्ने गरी विशेष बनाउने प्रयास गरेका छौँ,” बस्ताकोटीले बताइन् ।

तीज महोत्सवमा सिड्नी तथा आसपासका नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। धार्मिक आस्था, सांस्कृतिक प्रस्तुति र सामुदायिक सहभागिताको संगमका रूपमा आयोजना हुने महोत्सवमा परिवारसहित उपस्थित भएर नेपाली संस्कृति र तीजको उत्सव मनाउन आयोजकले सबैलाई आग्रह गरेको छ।

महोत्सवको अर्को विशेषता  सबैका लागि निःशुल्क प्रवेश हो। नेपाली हिन्दू समाज अस्ट्रेलियाले सम्पूर्ण नेपाली दिदीबहिनी तथा समुदायका सदस्यहरूलाई परिवारसहित उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गरेको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्