नेभिगेशन
न्यू साउथ वेल्स

सेण्ट्रल कोष्टमा तीजको रौनक सेप्टेम्बर १२ शनिबार  गायिका  एलिना चौहानको बिशेष प्रस्तुती

सिड्नी। प्रवासमा नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आएको सेण्ट्रल कोष्ट नेपालीज कम्युनिटीले यस वर्षको हरितालिका तीज विशेष कार्यक्रम भव्य रूपमा आयोजना गर्ने भएको छ। आगामी सेप्टेम्बर १२ शनिबार नरारामा आयोजना हुने ‘तीज २०२६’ कार्यक्रममा लोकप्रिय गायिका एलिना चौहानको विशेष प्रस्तुती रहनेछ। 
नरारा भ्याली ब्याप्टिस्ट चर्च, १४९ नरारा भ्याली ड्राइभ, नरारा NSW 2250 मा आयोजना हुने कार्यक्रम साँझ ६ बजेदेखि अबेरसम्म सञ्चालन हुनेछ।

सेण्ट्रल कोष्टमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एउटै थलोमा भेला गराएर नेपाली चाडपर्व, कला, संस्कृति र परम्परा सामूहिक रूपमा मनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कम्युनिटीले विगत एक दशकदेखि नेपाली पर्व तथा सांस्कृतिक कार्यक्रममार्फत सेण्ट्रल कोष्टमा नेपाली मौलिकता र सामुदायिक एकताको पहिचान स्थापित गर्दै आएको छ।
चौहानको प्रस्तुतीसँगै डीजे लाइभ सेसन समेत हुनेछ। नेपाली गीत–संगीतमा रमाउँदै परिवार तथा साथीभाइसँग तीज मनाउन चाहनेहरूका लागि कार्यक्रम विशेष हुने अपेक्षा गरिएको छ।

सेण्ट्रल कोष्ट नेपालीज कम्युनिटीका अध्यक्ष सन्तोष तिमिल्सिनाले  प्रवासमा नेपाली पर्व मनाउनु केवल मनोरञ्जनको विषय नभई भाषा, संस्कृति, परम्परा र सामुदायिक सम्बन्धलाई पुस्तान्तरण गर्ने महत्वपूर्ण माध्यम  भएको बताए                                                                              ।  
“तीज हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्व हो। प्रवासमा यसको महत्व अझ बढी हुन्छ। परिवार र समुदायसँगै बसेर पर्व मनाउँदा नयाँ पुस्ताले पनि हाम्रो संस्कृति र परम्परालाई नजिकबाट बुझ्ने अवसर पाउँछ,” तिमिल्सिनाको भनाइ छ।

उनले स्थानीय कलाकार तथा बालबालिकाको प्रतिभालाई समेत कार्यक्रममा स्थान दिइने भएकाले तीजलाई सांस्कृतिक आदानप्रदान र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने अवसरका रूपमा लिइएको बताए।

कार्यक्रम निःशुल्क रहने आयोजकले जनाएको छ। ‘फेमिली ग्यादरिङ’का रूपमा आयोजना हुने कार्यक्रममा परिवार, साथीभाइ तथा समुदायका सबै सदस्यलाई सहभागी हुन आह्वान गरिएको छ। तीजको सांगीतिक र सांस्कृतिक माहोलसँगै नेपाली परिकारको स्वादका लागि ८८४८ मोमो सिड्नीका फुड स्टलसमेत रहनेछ।

आयोजकले सेण्ट्रल कोष्ट तथा आसपासमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित कार्यक्रममा सहभागी भएर नेपाली संस्कृति र तीजको उल्लास सामूहिक रूपमा मनाउन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्