नेभिगेशन
न्यू साउथ वेल्स

स्याङ्जा समाज अस्ट्रेलियाको तीज साँझ कार्यक्रम  सेप्टेम्बर ५ तारिकमा हुने 

सिड्नी । अस्ट्रेलियामा नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्दै आएको स्याङ्जा समाज अस्ट्रेलियाले यस वर्षको तीज विशेष कार्यक्रमका रूपमा  स्याङ्जाली तीज साँझ आयोजना गर्ने भएको छ।

नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजलाई प्रवासमा समेत मौलिकता र उल्लासका साथ मनाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रम सेप्टेम्बर ५, शनिबार  ग्रान्ड प्यालेस फङ्सन सेन्टर, अबर्न, सिड्नीमा हुनेछ। कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुनेछ।

स्याङ्जा समाज अस्ट्रेलियाको आयोजनामा तथा Dhursan Constructionको प्रस्तुतिमा हुने कार्यक्रममा चर्चित नेपाली कलाकारहरू अर्जुन सापकोटा, गणेश गुरुङ र भिमु गुरुङको विशेष प्रस्तुति रहनेछ।

स्याङ्जा समाज अस्ट्रेलियाका अध्यक्ष दीपक क्षेत्रीले प्रवासमा नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

“हामी जहाँ रहे पनि आफ्नो भाषा, संस्कृति र परम्परा हाम्रो पहिचान हो। अस्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुन्छ। त्यसैले यसपटकको तीजलाई मनोरञ्जनसँगै नेपाली संस्कृति, आपसी सद्भाव र सामाजिक एकताको उत्सवका रूपमा मनाउन खोजेका छौं,” अध्यक्ष क्षेत्रीले भने।

उनका अनुसार ‘तीज साँझमा स्याङ्जाली समुदायमा मात्र सीमित कार्यक्रम नभई अस्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई एकै ठाउँमा जोड्ने साझा सांस्कृतिक मञ्च बनाउने लक्ष्य राखिएको छ।
हामी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई परिवारसहित कार्यक्रममा सहभागी भएर तीजको खुसी साटासाट गर्न आग्रह गर्दछौं। कार्यक्रमलाई व्यवस्थित, पारिवारिक र स्मरणीय बनाउने हाम्रो प्रयास हुनेछ,” क्षेत्रीले बताए।

कार्यक्रममा नेपाली मौलिक परिकार, सांस्कृतिक तथा सांगीतिक प्रस्तुति र अन्य मनोरञ्जनात्मक गतिविधि रहने आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी हुने दर्शकका लागि लक्की ड्रमार्फत पुरस्कारको समेत व्यवस्था गरिएको छ। लक्की ड्रको पुरस्कार Namaste Jewellersको प्रायोजनमा रहनेछ।

कार्यक्रमको प्रवेश शुल्क  वयस्कका लागि ५० अस्ट्रेलियन डलर र बालबालिकाका लागि २५ अस्ट्रेलियन डलर तोकिएको छ। आयोजकले अस्ट्रेलियाको नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई तीजको सांस्कृतिक उत्सवलाई सामूहिक रूपमा मनाउन आग्रह गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्