सिड्नी । नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रेलिया (निम्फा)ले अन्तर्राष्ट्रिय आदिवासी दिवस–२०२६ नेपाली आदिवासी जनजातिको भाषा, संस्कृति, पहिचान र अधिकारको आवाजलाई केन्द्रमा राख्दै विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ।
हर्स्टभिलस्थित मराना अडिटोरियममा शुक्रबार, १४ अगस्टमा आयोजित कार्यक्रममा अष्ट्रेलियामा रहेका नेपाली आदिवासी जनजाति समुदायका प्रतिनिधि, सामाजिक अगुवा, कलाकार, सञ्चारकर्मी तथा विभिन्न सामुदायिक संस्थाका पदाधिकारीको उल्लेखनीय सहभागिता थियो। मौलिक भेषभूषा, नृत्य, संगीत र सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई नेपाली आदिवासी जनजातिको विविधता र एकताको उत्सवका रूपमा प्रस्तुत गरेको थियो।
कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका मौलिक पोशाक समेटिएको परम्परागत प्रदर्शनी विशेष आकर्षण बन्यो। विभिन्न समुदायका प्रतिनिधिहरू आ–आफ्ना मौलिक पहिरनमा सहभागी भई नेपालको बहुजातीय र बहुसांस्कृतिक पहिचानलाई अष्ट्रेलियाको भूमिमा प्रस्तुत गरेका थिए।
सांस्कृतिक प्रस्तुतितर्फ किरात याक्थुङ चुम्लुङको च्याब्रुङ नृत्य, छन्त्याल परिवार अष्ट्रेलियाको थाली नृत्य, किरात राई समुदायको राई नृत्य, थारु सोसाइटी सिड्नीको थारु नृत्य तथा मगर समाज अष्ट्रेलियाको मगर नृत्य प्रस्तुत गरिएको थियो। गुठी अष्ट्रेलियाको नेवारी तथा लाखे नृत्य, तामाङ सोसाइटी अफ न्यू साउथ वेल्सको तामाङ नृत्य, तमु समाज सिड्नीको गुरुङ नृत्य, थकाली सेवा समिति अष्ट्रेलियाको थकाली नृत्य, राजवंशी समाजको सांस्कृतिक प्रस्तुति तथा शेर्पा समुदायको नृत्यले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।
नौ पटक सगरमाथा आरोहण गरेका कुंगा शेर्पाले आफ्नो आरोहण अनुभव र यात्राका संघर्षबारे प्रेरणात्मक प्रस्तुति दिएका थिए। उनको प्रस्तुति कार्यक्रममा सहभागीका लागि विशेष आकर्षण बनेको थियो।
निम्फाका अध्यक्ष लक्ष्मण गुरुङले आदिवासी जनजातिका साझा अधिकार, पहिचान र सरोकारका विषयमा सबै समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। नेपाली आदिवासी जनजातिका भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणसँगै विश्वभरका आदिवासी समुदायका अधिकार स्थापित गर्ने अभियानमा निम्फाले निरन्तर भूमिका निर्वाह गर्दै आएको उनले बताए।
कार्यक्रममा न्यू साउथ वेल्स सरकारका बहुसांस्कृतिक मन्त्री स्टिभ क्याम्पर, सांसद साइमन बाल्डरसन एएम, बार्टन निर्वाचन क्षेत्रकी सांसद एश अम्बिहैपहार, एन्ड्र्यु जुज, सांसद झी सुन तथा थिडा याङलगायतको उपस्थिति थियो। उनीहरूले अष्ट्रेलियाली समाजमा नेपाली समुदायले पुर्याउँदै आएको सकारात्मक योगदान, सामाजिक सहभागिता तथा बहुसांस्कृतिक समाजलाई थप समृद्ध बनाउन नेपाली समुदायले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।
उनीहरूले नेपाली समुदायको सक्रियता, सांस्कृतिक विविधता र समुदायबीचको सहकार्य अष्ट्रेलियाको बहुसांस्कृतिक समाजका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
अष्ट्रेलियन नेपलिज जर्नालिस्ट एसोसिएसन (एन्जा) अष्ट्रेलियाका अध्यक्ष कृष्ण तिवारीले नेपालको बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक सभ्यतालाई अष्ट्रेलियामा चिनाउन निम्फाले गरेको योगदान सराहनीय रहेको बताए। नेपालका सबै भाषिक तथा सांस्कृतिक समुदायका विषयलाई समान रूपमा उठाउँदै सबै समुदायलाई बराबरी स्थान दिने एन्जाको प्रतिबद्धता रहेको उनले बताए।
कार्यक्रममा निम्फाका पूर्वअध्यक्षहरू सुदर्शन थापा मगर, चित्र तुम्बाहाङ्फे र अरुणकुमार तामाङ, नेपाली कला तथा साहित्य प्रतिष्ठानकी पूर्वअध्यक्ष सुजाता बस्नेत केसी, एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष नन्द गुरुङलगायत सामाजिक तथा सामुदायिक अगुवाको सहभागिता थियो।
थकाली सेवा समिति, छन्त्याल परिवार अष्ट्रेलिया, गुठी अष्ट्रेलिया, मगर समाज अष्ट्रेलिया, तमु समाज सिड्नी, शेर्पा संघ न्यू साउथ वेल्स, किरात खम्बु राई समाज अष्ट्रेलिया, याक्थुङ चुम्लुङ अष्ट्रेलिया, राजवंशी समाज, थारु सोसाइटी सिड्नीलगायत विभिन्न जातीय तथा सामुदायिक संस्थाका अध्यक्ष, पदाधिकारी तथा सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न आदिवासी कलाकार तथा सांस्कृतिक समूहलाई प्रमाणपत्र प्रदान गरिएको थियो। मौलिक नृत्य, संगीत, भेषभूषा र सांस्कृतिक प्रस्तुतिले अष्ट्रेलियामा रहेका नेपाली आदिवासी जनजाति समुदायको सांस्कृतिक विविधता, सामूहिक पहिचान र एकताको सन्देशलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो।
सिड्नीमा आयोजित निम्फाको कार्यक्रमले नेपाली आदिवासी जनजाति समुदायबीचको एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउँदै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र मौलिक परम्परासँग जोड्ने सन्देश दिएको आयोजकले जनाएको छ।