सिड्नी। नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सेवाको भावनालाई प्रवासमा प्रवर्द्धन गर्ने उद्देश्यले एनआरएनए नारी निकुञ्ज एनएसडब्ल्यूको आयोजनामा ‘हरितालिका तीज उत्सव २०२६’ आयोजना हुने भएको छ।
आगामी अगस्ट २८, २०२६ (शुक्रबार) सिड्नीस्थित ग्रान्ड प्यालेस फङ्गसन सेन्टरमा आयोजना हुने उक्त कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिसहित नेपाली समुदायको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रम साझ ५. बजेदेखि सुरु हुनेछ।
यस वर्षको तीज उत्सवलाई मनोरञ्जन र सांस्कृतिक कार्यक्रमसँगै परोपकारी अभियानका रूपमा समेत अघि बढाइएको छ। आयोजकका अनुसार कार्यक्रमबाट हुने बचत रकम नेपालमा रहेका ओझेलमा परेका, असहाय तथा उत्पीडित अपाङ्गता भएका व्यक्तिहरूको प्रत्यक्ष सहयोग, पुनःस्थापना तथा सामाजिक उत्थानका लागि पठाइनेछ।
नारी निकुञ्ज एनएसडब्ल्यूकी संयोजक आशा श्रेष्ठले प्रवासमा नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै मातृभूमिमा रहेका असहाय तथा पछाडि पारिएका समुदायलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्।
“प्रवासमा नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिनुका साथै मातृभूमिका असहाय तथा पछाडि पारिएका अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्नु हाम्रो मुख्य उद्देश्य हो। कार्यक्रमबाट प्राप्त बचत रकम पारदर्शी रूपमा उनीहरूको हितमा प्रयोग गरिनेछ,” श्रेष्ठले भनिन्।
तीज उत्सवलाई थप आकर्षक बनाउन नेपालबाट चर्चित कलाकारहरूको टोलीसमेत सिड्नी आउने भएका छन् । कार्यक्रममा रचना रिमाल, प्रताप दास, दीपिका बायम्बु, रुविना अधिकारी, जेनिसा गौतम, प्रान्सी, अविशा तथा श्रेया ज्ञवालीलगायतका कलाकारले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ। कार्यक्रममा नेपाली लोक तथा आधुनिक संगीतका साथै तीजसँग सम्बन्धित सांस्कृतिक प्रस्तुतिहरू समेत रहने बताइएको छ।
कार्यक्रममा सहभागी हुनका लागि प्रति व्यक्ति ५५ अष्ट्रेलियन डलर प्रवेश शुल्क निर्धारण गरिएको छ। उक्त शुल्कमा तीन-कोर्स भोजन समेत समावेश गरिएको आयोजकले जनाएको छ।
नारी निकुञ्ज एनएसडब्ल्यूले सिड्नीका नेपाली समुदाय, संघसंस्था, आमा–दिदीबहिनी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी हुन अपिल गरेको छ।