सिड्नी । अष्ट्रेलियामा जन्मिएका र हुर्किरहेका नेपाली मूलका बालबालिकाहरूलाई आफ्नो भाषा, लिपि र सांस्कृतिक पहिचान हस्तान्तरण गर्दै आएको ‘शब्दमाला नेपाली भाषा विद्यालय’ ले आफ्नो स्थापनाको १५ औँ वार्षिकोत्सव मनाएको छ। 
अगस्ट १५ तारिख, शनिबारका दिन सिड्नीको मेरील्याण्ड्सस्थित बार्दली फङ्क्सन सेन्टरमा एक विशेष समारोहका बीच वार्षिकोत्सव सम्पन्न भएको हो।
गुठी अष्ट्रेलिया र गोर्खा नेप्लिज कम्युनिटी (GNC) को संयुक्त पहलमा सन् २०१० मा स्थापना भएको यस विद्यालयले न्यू साउथ वेल्स (NSW) राज्यमा विधिवत् दर्ता भई लामो समयदेखि नेपाली भाषा र संस्कृतिको संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।
आठ शाखाबाट ४३० विद्यार्थीले लिँदैछन् शिक्षा
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शब्दमाला नेपाली भाषा विद्यालयका अध्यक्ष दीपक लामिछानेले संस्थाको १५ वर्षे यात्रा र वर्तमान अवस्थाबारे जानकारी गराए । उनका अनुसार हाल सिड्नी र न्युकासल क्षेत्रका ८ प्रमुख स्थानहरू— क्याम्पसी, ग्रानभिल, म्याक्वारी फिल्ड्स, कार्लटन साउथ, द पोन्ड्स, वेटारा, प्लाट्सबर्ग र सेन्ट मेरीज बाट ४३० जना नेपाली मूलका बालबालिकाहरूले भाषा तथा संस्कृति अध्ययन गरिरहेका छन्।
विद्यालय सञ्चालनका लागि ७० जना स्वयंसेवी शिक्षक-शिक्षिका तथा ३० जना व्यवस्थापन समिति सदस्यहरू निरन्तर खटिरहेको अध्यक्ष लामिछानेले बताए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डा. राजन क्षेत्रीले भिडियो सन्देशमार्फत शब्दमालाको प्रारम्भिक संघर्ष, स्थापनाको पृष्ठभूमि र उद्देश्यबारे स्मरण गराएका थिए भने पूर्व अध्यक्ष अर्चना घले गुरुङले संस्थाको क्रमिक विकास र आगामी रणनीतिक दूरदृष्टि प्रस्तुत गरिन् ।
कार्यक्रममा प्रमुख अतिथि ‘न्यू साउथ वेल्स फेडेरेसन अफ कम्युनिटी ल्याङ्ग्वेज स्कूल’ (NSW FCLS) की व्यवस्थापन समिति सदस्य भेरोनिका क्याप्सिमालीले अष्ट्रेलियाजस्तो बहुसांस्कृतिक समाजमा बालबालिकालाई आफ्नो मातृभाषा र संस्कृतिसँग जोडिराख्न शब्दमालाले खेलेको भूमिकाको उच्च प्रशंसा गरिन् ।
त्यसैगरी गुठी अष्ट्रेलियाका अध्यक्ष कुन्दन ताम्राकार तथा गोर्खा नेप्लिज कम्युनिटीका अध्यक्ष राजीव प्रधानले डायस्पोरामा नेपाली भाषा र पहिचान जगेर्ना गर्न शब्दमालाको योगदान अतुलनीय रहेको उल्लेख गरे ।चिल्ड्रन्स फेस्टिभल अर्गनाइजेसनका अध्यक्ष तुआन मिन्ह डाङको पनि उपस्थिति रहेको थियो ।
१५ औँ वार्षिकोत्सवको विशेष अवसरमा शब्दमालाको स्थापना, संस्थागत विकास र स्तरोन्नतिमा पुर्याएको योगदानको कदर गर्दै संस्थापक सदस्यहरू, पूर्व सञ्चालक समिति सदस्यहरू, सल्लाहकारहरू एवं विभिन्न साझेदार संघ-संस्थाहरूलाई सम्मान प्रदान गरियो।
समारोहमा गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया एनएसडब्ल्यू राज्य संयोजक उषाकिरण बारिया पोखरेल, अष्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसन (ANJA) का अध्यक्ष कृष्ण तिवारी, पूर्व अध्यक्ष एवं बाह्रखरीका प्रतिनिधि हेमन्त काफ्ले, द नेपाली टाइम्स अष्ट्रेलियाका प्रकाशक महेन्द्र लम्साल, एसबीएस रेडियोका राजेश अर्याल, नेपाली कला तथा साहित्य प्रतिष्ठान (NKSSP) की अध्यक्ष कल्याणी बर्तौला, NSW FCLS की कार्यसमिति सदस्य एवं शब्दमालाकी सल्लाहकार/संस्थापक बिन्दिया सुब्बा, कानुनी सल्लाहकार अधिवक्ता सञ्जीव पाण्डे, पूर्व अध्यक्षहरू समिन्द्र श्रेष्ठ, बिक्रम शर्मा खरेल, डा. प्रकाश पौडेल, अचला तिमिल्सिना, पूर्व सचिव एवं सल्लाहकार मुकेश बुढाथोकी तथा निवर्तमान अध्यक्ष विष्णु घिमिरे लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
औपचारिक समारोहमा शब्दमालाका सांस्कृतिक शिक्षक तथा विद्यार्थीहरू आकृती घिमिरे, श्रेया पोखरेल, रेयाना पौडेल र अलिसा केसीले विविध सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए।
शब्दमालाका सार्वजनिक अधिकारी (Public Officer) दिपेन बानियाँको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रमको सञ्चालन स्टेला लामिछाने तथा सचिव रामजी कोइरालाले गरेका थिए। कार्यक्रमको धन्यवाद ज्ञापन सचिव रामजी कोइरालाले गरेका थिए। औपचारिक समारोहपश्चात् विशेष रात्रिभोजको आयोजना समेत गरिएको थियो।