नेभिगेशन
न्यू साउथ वेल्स

अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको योगदान महत्वपूर्ण : प्रधानमन्त्री अल्बानिज

सिड्नी ।  अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अस्ट्रेलियाको बहुसांस्कृतिक समाज निर्माणमा नेपाली समुदायले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरेका छन्। उनले नेपाली समुदाय अस्ट्रेलियाको सामाजिक, सांस्कृतिक र आर्थिक जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको बताएका छन्।

फेडेरेसन अफ नेपलिज कम्युनिटी एसोसिएसन्स अस्ट्रेलिया (FENCAA) को साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले नेपाली समुदायले अस्ट्रेलियाको बहुसांस्कृतिक समाजलाई थप विविध र समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।

नेपाली समुदाय विशेषगरी न्यु साउथ वेल्सलगायतका राज्यमा सक्रिय रहेको उल्लेख गर्दै उनले आगामी दिनमा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।att.xRnyvYD29aA5s0D5gTtXgqo8h6ul1o8-I8fTdtOOkVI-1786655088.jpeg

प्रधानमन्त्री अल्बानिजले आफूले नेपाल भ्रमण गरिसकेको स्मरण गर्दै नेपालको भौगोलिक, सांस्कृतिक तथा सामाजिक विविधता आफूलाई निकै मन परेको बताए।

कार्यक्रममा अस्ट्रेलियाका सहायक मन्त्री पिटर खलिलसहित वरिष्ठ सरकारी अधिकारीहरूको सहभागिता थियो। खलिलले नेपाली समुदायले आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण गर्दै अस्ट्रेलियाली समाजमा सकारात्मक योगदान पुर्‍याइरहेको बताए।

उनले नेपाली समुदायलाई ‘महान्, दयालु र आत्मीय’ समुदायका रूपमा उल्लेख गर्दै समुदायको एकता तथा सांस्कृतिक पहिचान संरक्षणका लागि भइरहेका प्रयासको प्रशंसा गरे।

FENCAA का अध्यक्ष मधु पुडाशैनीले विदेशमा रहेर पनि नेपाली कला, संस्कृति, भाषा र पहिचानलाई निरन्तरता दिन समुदायले देखाएको प्रतिबद्धताको प्रशंसा गरे। नेपालको सकारात्मक पहिचान अन्तर्राष्ट्रिय समुदायमाझ स्थापित गर्न नेपालीहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

महासचिव भोला गिरीले FENCAA को संस्थागत अवस्था तथा गतिविधिबारे जानकारी गराउँदै नेपाली समुदायको पहिचान र प्रभावलाई थप विस्तार गर्न सबै नेपाली संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताए। कोषाध्यक्ष जीवन रानाले संस्थाको आर्थिक अवस्थाबारे जानकारी गराएका थिए।

कार्यक्रममा अस्ट्रेलियामा नेपाली समुदायले पुर्‍याएको सामाजिक तथा अन्य क्षेत्रको योगदानबारे डा. कृष्ण हमालले अनुसन्धानमा आधारित प्रस्तुति दिएका थिए।

त्यस्तै, ग्रेटर सिड्नी मल्टिकल्चरल सेन्टरका उपाध्यक्ष उमेश पन्तले अस्ट्रेलियामा रहेका बहुसांस्कृतिक सामुदायिक केन्द्रहरूको भूमिका, योगदान र विस्तारबारे प्रस्तुति दिए।

कार्यक्रममा प्रधानमन्त्री अल्बानिजलाई अस्ट्रेलियन एसोसिएसनको ५०औँ स्थापना दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणासमेत प्रदान गरिएको थियो।

साधारण सभामा FENCAA का पूर्वअध्यक्षहरू बम योञ्जन, जोग लिम्बु, विष्णु हमाल, इन्द्रा बन र चिरन तिवारीलगायतले संस्थाको आगामी भूमिका तथा नेपाली समुदायका विषयमा सुझाव दिएका थिए। नेपाली समुदायका अगुवा डा. मोम विश्वकर्मा, विष्णु घिमिरे, फेडरल मेम्बर अफ बक्सका सांसद झी सुन तथा NAA का पूर्वअध्यक्ष एवं पत्रकार ऋषि आचार्यलगायतको पनि सहभागिता थियो।

साधारण सभाका क्रममा नेपाली समुदायका चुनौती, अवसर तथा आगामी प्राथमिकताबारे प्यानल छलफलसमेत गरिएको थियो।

FENCAA का न्यु साउथ वेल्स संयोजक मुक्तिराम पोखरेल, अस्ट्रेलियन क्यापिटल टेरिटोरी संयोजक सुरज पौडेल र भिक्टोरिया संयोजक कृष्णबहादुर महराले सम्बन्धित राज्यमा नेपाली समुदायका गतिविधि, उपलब्धि, चुनौती र सम्भावनाबारे धारणा राखेका थिए।

प्यानल सहभागीहरूले नेपाली समुदायको संख्या बढ्दै जाँदा संस्थागत सुदृढीकरण, समुदायबीचको एकता, नयाँ पुस्ताको सहभागिता तथा नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए। साथै, अस्ट्रेलियाली मूलधारको समाजमा नेपाली समुदायको प्रभावकारी सहभागिता बढाउन स्थानीय तथा राज्य सरकारसँगको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा उनीहरूले जोड दिए।

प्यानल छलफलको सहजीकरण FENCAA का सचिव डा. प्रकाश पौडेलले गरेका थिए। कार्यक्रम FENCAA का अध्यक्ष मधु पुडाशैनीको अध्यक्षतामा तथा महासचिव भोला गिरीको सञ्चालनमा भएको थियो। कोषाध्यक्ष जीवन रानाले स्वागत मन्तव्य दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्