नेभिगेशन
न्यू साउथ वेल्स

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको  ‘तीज रमाइलो साँझ  शनिबार २९ अगस्ट ग्रानभिलमा हुने 

सिड्नी । नेपाली चाडपर्व, कला र संस्कृतिलाई प्रवासमा जीवन्त राख्ने उद्देश्यसहित नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, NSW ले ‘तीज रमाइलो साँझ–२०२६’ आयोजना गर्ने भएको छ। नेपाली समुदायमा तीजको सांस्कृतिक र सामाजिक महत्वलाई अझ सशक्त रूपमा स्थापित गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रम शनिबार २९ अगस्ट २०२६ मा ग्रानभिल टाउन हलमा हुँदैछ।

सांस्कृतिक पहिचानलाई प्रवासमा रहेका नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रमलाई विशेष सांस्कृतिक स्वरूपमा प्रस्तुत गर्न लागिएको आयोजकले जनाएको छ।

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष कल्याणी बार्तौलाले प्रवासमा नेपाली संस्कृति संरक्षण गर्नु अहिलेको पुस्ताको महत्वपूर्ण जिम्मेवारी भएको बताइन्।उनले  भनिन्  - हामी विदेशमा भए पनि हाम्रो भाषा, संस्कृति र परम्परा हाम्रो पहिचान हो। तीजजस्ता मौलिक पर्वमार्फत नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्न सकिन्छ। ‘तीज रमाइलो साँझ’ मनोरञ्जनको कार्यक्रम मात्र नभई हाम्रो संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने एउटा महत्वपूर्ण अभियान भएको बार्तौलाले बताइन् ।  

प्रतिष्ठानकी संरक्षक तथा निवर्तमान अध्यक्ष सुजाता केसीले विदेशमा नेपाली समुदायको विस्तारसँगै आफ्नो मौलिक पहिचान जोगाउने जिम्मेवारी पनि बढ्दै गएको बताइन्।

“हामी जहाँ पुगे पनि हाम्रो संस्कृति र पहिचान हामीसँगै जानुपर्छ। नयाँ पुस्ताले आफ्नै भाषा, कला र परम्परालाई नजिकबाट बुझ्ने वातावरण बनाउनुपर्छ। तीज हाम्रो सामाजिक र सांस्कृतिक जीवनको महत्वपूर्ण हिस्सा हो। त्यसैले यस्ता कार्यक्रमको निरन्तरता अत्यन्त आवश्यक रहेको केसीले  बताइन् ।

‘तीज रमाइलो साँझ–२०२६’ मा विभिन्न सांस्कृतिक प्रस्तुति, गीत–संगीत तथा नृत्यका माध्यमबाट नेपाली संस्कृतिको झल्को प्रस्तुत गरिनेछ। कार्यक्रममा सहभागी दर्शकका लागि विशेष उपहार ह्याम्परको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम २९ अगस्टमा साँझ ४ बजेदेखि राति ११ बजेसम्म ग्रानभिल टाउन हल, १० कार्लटन स्ट्रिट, ग्रानभिलमा सञ्चालन हुनेछ। टिकट मूल्य प्रति व्यक्ति ५० डलर तोकिएको छ।
आयोजकले नेपाली समुदायका परिवार, कलाकार, साहित्यकार, संस्कृतिप्रेमी तथा तीजप्रेमी सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
प्रतिष्ठानले नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई निरन्तर प्राथमिकतामा राख्दै हरेक बर्ष तीज कार्यक्रम  गर्दै आएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्