सिड्नी । नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानको (NKSSP NSW) आयोजनामा सिड्नी स्थित अर्बन टाउनहलमा गत शनिबार २१३औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रवासमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी अध्यक्ष कल्याणी बर्तौलाले गरेकी थिइन्। अध्यक्षीय मन्तव्य व्यक्त गर्दै बर्तौलाले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि प्रवासी नेपाली समुदायले साझा जिम्मेवारी वहन गर्नुपर्ने बताइन्। उनले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको विकासमा पुर्याएको ऐतिहासिक योगदानलाई स्मरण गर्दै नयाँ पुस्तामा नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको अपनत्व बढाउन यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रमका प्रमुख अतिथि पूर्व महाबणिज्यदूत दीपक खड्काले प्रवासमा नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न समुदायले गरिरहेका प्रयासको प्रशंसा गरे। उनले साहित्य, कला र संस्कृतिको संरक्षण केवल स्मरणको विषय नभई भावी पुस्ताप्रतिको उत्तरदायित्व भएको धारणा व्यक्त गरे।
यस अवसरमा नेपाली कला र साहित्य क्षेत्रमा दीर्घकालीन तथा विशिष्ट योगदान पुर्याएका दुई व्यक्तित्वलाई ‘भानु पुरस्कार–२०२६’ प्रदान गरिएको थियो।जसमा कला तर्फ सञ्जीव बस्नेत र साहित्य तर्फ सौरभ किरण श्रेष्ठ रहेका छन् । कार्यक्रममा तमु समाज अष्ट्रेलियाका अध्यक्ष हेउपति गुरुङले गुरुङ भाषामा कविता वाचन गरेका थिए। त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ओशिनियाका केन्द्रीय उपाध्यक्ष डा. प्रकाश पौडेल लगायत अन्य साहित्य प्रेमीहरुले कबिता बाचन गरेका थिए
कार्यक्रमको अर्को प्रमुख आकर्षण साना–साना बालबालिकाहरूको विशेष सांस्कृतिक प्रस्तुति रह्यो। उनीहरूले नेपाली गीत, नृत्य तथा सांस्कृतिक झाँकीमार्फत नेपाली मौलिकता प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए। यसैगरी NKSSP समूहको सांस्कृतिक नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष नन्द गुरुङ, नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानकी संरक्षक तथा पूर्वअध्यक्ष सुजाता ,बस्नेत, डा. मधु पुडासैनी, विष्णु हमाल, डा. प्रवीण पाठक, एलेक्स कार्की, ANJA का अध्यक्ष कृष्ण तिवारी, एन्जाका सल्लहकर डा. राजु मानन्धर रूपन्देही समाज अष्ट्रेलियाकी अध्यक्ष रञ्जिता अधिकारी, शब्दमालाका पूर्वअध्यक्ष विष्णु घिमिरे, लगायत विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
त्यसैगरी, नैइ प्रकाशनकी अध्यक्ष सीमा रोशी सामाजिक अभिएन्ता जानकी रिमाल लगायत विभिन्न सामाजिक, साहित्यिक तथा सामुदायिक संस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।