सिड्नी। नेपाली राजनीतिक तथा सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘बिगुल’ को विशेष प्रिमियर प्रदर्शन आगामी शनिबार २७ जुन २०२६ मा अष्ट्रेलियाको सिड्नीस्थित सिभिक थिएटर, हर्स्टभिलमा आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ।
निर्देशक रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ ले समकालीन नेपाली समाजमा देखिएको राजनीतिक विकृति, सुशासन, नेतृत्वको जिम्मेवारी तथा सामाजिक न्यायका विषयलाई उठान गरेको छ। चलचित्रले भ्रष्टाचारविरुद्ध आवाज उठाउने र आम नागरिकलाई सचेत बनाउने सन्देश बोकेको बताइएको छ।
चलचित्रमा अभिनेत्री बेनिशा हमालसहित नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ। प्रदर्शनअघि नेपालमा आयोजित प्रिमियरमा चलचित्रको विषयवस्तु र प्रस्तुतीको व्यापक प्रशंसा भएको थियो। विभिन्न राजनीतिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूले चलचित्रले वर्तमान नेपालको यथार्थलाई प्रभावकारी रूपमा चित्रण गरेको प्रतिक्रिया दिएका थिए।
अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै आयोजना हुन लागेको यस विशेष प्रदर्शनले नेपाली भाषा, संस्कृति र चलचित्र उद्योगप्रति प्रवासमा थप आकर्षण र समर्थन बढाउने अपेक्षा गरिएको छ। आयोजकले नेपाली समुदायलाई परिवार तथा साथीभाइसँग सहभागी भई नेपाली सिनेमालाई साथ दिन आग्रह गरेका छन्।
चलचित्र ‘बिगुल’ अन्य अष्ट्रेलियाली शहरहरूमा समेत प्रदर्शन गर्ने तयारी भइरहेको जनाइएको छ।