सिड्नी । अस्ट्रेलियाको सिड्नीमा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय रहेका भुटानी मूलका नेपाली लेखक पदम काफ्लेको पहिलो कृति ‘युगयात्रा’ सार्वजनिक गरिएको छ। ब्ल्याकटाउनस्थित रिक्स वेबर पुस्तकालयमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो।
पुस्तकको लोकार्पण वरिष्ठ पत्रकार घुवहरि अधिकारी, लेखक डा. ओम डुंगेल, समाजसेवी तथा साहित्यकार सोमकिरण श्रेष्ठ, लेखक सानु घिमिरे, समालोचक सुरेन्द्र दवाडी र लेखकका परिवारजनले संयुक्त रूपमा गरेका थिए।
ब्ल्याकटाउन सिटी काउन्सिल, रिक्स वेबर लाइब्रेरी तथा साउथ वेस्ट मल्टिकल्चरल सर्भिसेजको सहकार्यमा एसोसिएसन अफ भुटनिज इन अस्ट्रेलिया (एबिए) ले कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा लेखक काफ्लेसँग साहित्यिक अन्तरसंवादसमेत गरिएको थियो। लेखक नन्दलाल भण्डारी, भक्तिराम खतिवडा र दिव्यश्री आचार्य सहभागी उक्त अन्तरसंवादको सहजीकरण सानु घिमिरेले गरेका थिए। सो अवसरमा काफ्लेले पुस्तक लेखनको प्रेरणा, सिर्जनात्मक यात्राका अनुभव तथा कृतिमा समेटिएका विषयवस्तुबारे धारणा राखेका थिए।
अन्तरसंवादका क्रममा वक्ताहरूले ‘युगयात्रा’ मा उठाइएका विषय, भुटानी शरणार्थी समुदायको जीवनानुभव, नेपाल र अस्ट्रेलियाबीचको सामाजिक तथा सांस्कृतिक यात्रालाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गरेका थिए। दिव्यश्री आचार्यले शरणार्थी जीवनका पीडा र पुनर्स्थापनापछि प्राप्त अवसरलाई पुस्तकले सन्तुलित ढंगले प्रस्तुत गरेको टिप्पणी गरिन्।
समालोचक सुरेन्द्र दवाडीले कृतिमा देखिएको साहित्यिक चेत, कथ्य र प्रवासी भुटानी नेपाली समुदायको सांस्कृतिक यथार्थबारे चर्चा गर्दै पुस्तकले समुदायको अनुभवलाई प्रभावकारी रूपमा अभिव्यक्त गरेको बताए। उनले कृतिका सबल पक्षको प्रशंसा गर्दै आगामी लेखनमा थप परिष्कार गर्न सकिने केही पक्षबारे सुझावसमेत दिएका थिए।
कार्यक्रममा वरिष्ठ पत्रकार घुवहरि अधिकारी, एबिए अध्यक्ष सुमन क्षेत्री तथा डा. सञ्जय बान्तवाले कृतिको सफलताको शुभकामना व्यक्त गरेका थिए।
सांस्कृतिक प्रस्तुतिअन्तर्गत सरिता काफ्ले, पवित्रा नेपाल र शिला गौतमले भुटानको सम्झनामा आधारित ‘नढाँट तिमीले मलाई’ गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन गोपाल तिम्सिनाले गरेका थिए।
खुम्ब्ला बुक्सद्वारा प्रकाशित ‘युगयात्रा’ को लोकार्पण तथा अन्तरक्रिया कार्यक्रममा सिड्नी र आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली तथा भुटानी मूलका साहित्यकार, साहित्यप्रेमी र समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।