नेभिगेशन
न्यू साउथ वेल्स

चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६ को ग्राण्ड फिनाले जुन २० मा सिड्नीमा हुँदै

सिड्नी। अष्ट्रेलियामा रहेका नेपाली समुदायका बालबालिकाहरूको प्रतिभा पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले Nepalese Australian Association (NAA) द्वारा आयोजित ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ को ग्राण्ड फिनाले आगामी जुन २० मा सिड्नीमा आयोजना हुने भएको छ।

प्रतियोगितामा ५ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरूले गायन, नृत्य, वक्तृत्वकला लगायत विभिन्न विधामार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्। यसअघि सम्पन्न प्रारम्भिक तथा अन्तिम अडिसन चरणबाट उत्कृष्ट प्रतिस्पर्धीहरू छनोट भई ग्राण्ड फिनालेमा प्रवेश गरेका छन्।

मंगलबार आयोजित पत्रकारसँगको भर्चुअल अन्तरक्रिया कार्यक्रममा NAA की अध्यक्ष  निशा राजभण्डारी ले अडिसन चरण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै सहभागीहरूको प्रतिभा, प्रस्तुति शैली, आत्मविश्वास तथा समग्र क्षमताका आधारमा फाइनल चरणका लागि छनोट गरिएको बताइन्।

उनका अनुसार प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि सम्बन्धित क्षेत्रका अनुभवी व्यक्तित्वहरू सम्मिलित निर्णायक मण्डल गठन गरिएको छ। निर्णायकहरूले पूर्वनिर्धारित मापदण्डका आधारमा प्रत्येक प्रस्तुतीको मूल्याङ्कन गर्नेछन्।

कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै नेपाली भाषा, कला, संस्कृति र मौलिक पहिचानप्रतिको लगाव बढाउनु रहेको आयोजकले जनाएको छ। नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक जरोसँग जोड्दै प्रतिभा विकासका लागि उपयुक्त मञ्च प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताइएको छ।

चिल्ड्रेन्स ट्यालेन्ट नाइटको चौथो संस्करणका रूपमा आयोजना हुन लागेको यस वर्षको कार्यक्रम विभिन्न नेपाली सामुदायिक संस्था, व्यवसायिक प्रतिष्ठान, समाजसेवी व्यक्तित्व तथा शुभेच्छुकहरूको सहयोग र सहकार्यमा सम्पन्न हुन लागेको हो।

आयोजक संस्थाले कार्यक्रमको सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने प्रायोजक, सामुदायिक संस्था, अभिभावक, स्वयंसेवक, निर्णायक तथा सहभागी बालबालिकाप्रति आभार व्यक्त गरेको छ।

अन्तरक्रिया कार्यक्रममा  एन्जाका अध्यक्ष कृष्ण  तिवारीले नेपाली समुदायमा बालबालिकाको प्रतिभा विकासमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यसको प्रचार–प्रसारमा सञ्चारकर्मीहरूको योगदान पनि उत्तिकै महत्वपूर्ण रहने बताए।

NAA ले चिल्ड्रेन्स ट्यालेन्ट नाइटलाई नेपाली समुदायका बालबालिकाको प्रतिभा विकास, सांस्कृतिक संरक्षण तथा सामाजिक–सांस्कृतिक मूल्य र परम्पराको प्रवर्द्धन गर्ने प्रभावकारी मञ्चका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्