सिड्नी, । विश्व रक्तदाता दिवसको अवसरमा अस्ट्रेलियाको सिड्नीस्थित टाउन हल ब्लड डोनर सेन्टरमा नेपाली समुदायको सक्रिय सहभागितामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
“मानवताका एक थोपा, रक्तदान गरौं, जीवन बचाऔं” भन्ने नारासहित आयोजित कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए। तीमध्ये तीन जनाले प्लाज्मा तथा १० जनाले होल ब्लड दान गरेका आयोजकले जनाएको छ।
नेपाली रक्तदाता संघ अस्ट्रेलिया (एनबीडीए) को आयोजनामा भएको कार्यक्रममा संघका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीको आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन एनबीडीएका सचिव प्रसन्न दाहालले गरेका थिए भने संयोजक रसना पलाञ्चोकेले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन्।
प्लाज्मा दान गर्नेहरूमा शंकर शर्मा ज्ञवाली, प्रसन्न दाहाल र सञ्जन उप्रेती रहेका थिए। त्यसैगरी जमुना रोक्का, सविना बस्याल, राज लोहाला, दिया अब्राहम, भुषण डंगोल, भावना पराजुली, सञ्जय श्रेष्ठ, जागृत बन्जाडे, केड्जी डिमाकुलाङ्गन र ब्राहम पाण्डेले होल ब्लड दान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अतिथि डा. रेग्मीले रक्तदानलाई जीवनदानसँग तुलना गर्दै यसलाई मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताए। उनले रक्तदानजस्ता परोपकारी अभियानलाई प्रभावकारी बनाउन विभिन्न सामाजिक तथा सामुदायिक संस्थाबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राखे।
अध्यक्ष पोखरेलले अस्ट्रेलियामा रगतको अभाव न्यूनीकरण गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइ बताए। इच्छुक व्यक्तिहरूले आफूलाई पायक पर्ने रक्तदान केन्द्रमा पुगेर नियमित रक्तदान गर्न सक्ने जानकारी पनि उनले दिए।
कार्यक्रममा एनबीडीए अस्ट्रेलियाका संरक्षक विनोद मैनाली, सल्लाहकार सूर्य गौतम, रूपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाका अध्यक्ष तथा एनबीडीएका संरक्षक रञ्जिता भण्डारीलगायतले रक्तदान अभियानको प्रशंसा गर्दै मानव जीवन बचाउने कार्यमा सबै समुदाय र संस्थाहरूलाई सक्रिय हुन आह्वान गरेका थिए।
आयोजकका अनुसार नेपाली रक्तदाता संघ विश्वका ३० भन्दा बढी देशमा सक्रिय छ। “रक्तदान जीवनदान” भन्ने भावनालाई आत्मसात् गर्दै संघले विभिन्न देशमा मानवीय सेवामूलक गतिविधि सञ्चालन गरिरहेको छ।
अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले स्थानीय समाज तथा सरकारी तहका विभिन्न सामाजिक अभियानमा योगदान पुर्याउँदै आएको सन्दर्भमा रक्तदान कार्यक्रमले रगत अभाव न्यूनीकरणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा स्वयंसेवी रक्तदाता, आयोजक संस्थाका पदाधिकारी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।