सिड्नी । अष्ट्रेलियाको नेपाली समुदायमा नेपाली सञ्चार माध्यम नेपाल न्युज अष्ट्रेलियाले ‘मिडिया टक’ कार्यक्रम तथा अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर गत शनिबार सिड्नीको रातो घरमा आफ्नो १२औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। कार्यक्रममा नेपाली समुदायका अग्रणी व्यक्तित्व, सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि न्यु साउथ वेल्सका वाणिज्यदूत सञ्जीव शर्माले प्रवासमा बसेर नेपाली भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गरे। उनले नेपाल न्युज अष्ट्रेलियाले १२ वर्षदेखि निरन्तर नेपाली समुदायलाई सूचना, समाचार र पहिचानसँग जोड्दै आएको भन्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरे।
न्यु साउथ वेल्सका पूर्व महावाणिज्यदूत दीपक खड्काले प्रवासमा स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताको महत्वबारे चर्चा गर्दै नेपाल न्युज अष्ट्रेलियाले अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा ‘मिडिया टक’ जस्तो कार्यक्रम आयोजना गर्नु अत्यन्त सान्दर्भिक रहेको बताए। उनले प्रवासमा नेपाली समुदायको आवाज उठाउने सञ्चार माध्यमहरूलाई सबैको साथ र सम्मान आवश्यक रहेको धारणा राखे।
कार्यक्रमका सभापति तथा नेपाल न्युज अष्ट्रेलियाका प्रधान सम्पादक माधव गैरेले संस्थाको स्थापना कालदेखि अहिलेसम्मको यात्रा स्मरण गर्दै समुदायको साथ, सहयोग र विश्वासका कारण यो उपलब्धि सम्भव भएको बताए। उनले आगामी दिनमा अझ निष्पक्ष, जिम्मेवार र समुदायमुखी पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल न्युज अष्ट्रेलियाका सम्पादक तथा अष्ट्रेलियन नेपलिज जर्नालिस्ट एसोसिएसन( एन्जा) का अध्यक्ष कृष्ण तिवारीले ‘मिडिया टक’ कार्यक्रमको उद्देश्यबारे विस्तृत प्रकाश पार्दै १२ वर्षको यात्रा कुनै साधारण उपलब्धि नभएको बताए। उनले सुरुवाती दिनहरूमा सीमित स्रोत–साधनका बीच समुदायको सूचना आवश्यकतालाई पूरा गर्ने लक्ष्यसहित सुरु गरिएको अभियान आज समुदायको भरोसायोग्य सञ्चार माध्यमका रूपमा स्थापित भएको उल्लेख गरे। तिवारीले नेपाल न्युज अष्ट्रेलियाले समाचार मात्र नभई प्रवासमा रहेका नेपालीहरूको भावना, समस्या, उपलब्धि र पहिचानलाई उजागर गर्ने माध्यमका रूपमा काम गर्दै आएको बताए। उनले १२ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण पाठक, सहयोगी, विज्ञापनदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय, जिम्मेवार र समुदायप्रति उत्तरदायी पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरे।
एनआरएनए ग्लोबल उपाध्यक्ष दिनेश पोखरेलले प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाल न्युज अष्ट्रेलियाले समुदायलाई जोड्ने पुलको काम गरेको बताए। समाजसेवी तथा कानुनविद् डा. शमशेर सिंह थापाले कानुनी सचेतना, सामाजिक उत्तरदायित्व र सकारात्मक पत्रकारिताको आवश्यकतामा जोड दिए।
नेपाल समुदायका व्यवसायी ज्ञानेन्द्र कार्कीले ( ग्यारी ) प्रवासमा सञ्चार माध्यमले नेपाली व्यवसायी, पेशाकर्मी र समुदायबीच सूचना आदानप्रदानमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपाल न्युज अष्ट्रेलियाले समुदायको आवाजलाई सशक्त रूपमा उठाउँदै आएको बताए। समाजसेवी विष्णु हमालले प्रवासमा नेपाली एकता, सहकार्य र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।
नेपाल न्युज अष्ट्रेलियाका पूर्व प्रकाशक प्रदीप ढकालले संस्थाको प्रकाशन यात्रामा साथ दिने सम्पूर्ण सहयोगीप्रति कृतज्ञता व्यक्त गरे भने पूर्व प्रकाशक डिल्ली ढकालले विगतको अनुभव सुनाउँदै संस्थाको निरन्तरता र विश्वसनीयताले समुदायमा विश्वास स्थापित गरेको बताए।
कार्यक्रममा तमु समाज अष्ट्रेलियाका अध्यक्ष हेउपति गुरुङ, पूर्व एनआरएनए अध्यक्ष नन्द गुरुङ, सुरेन्द्र सिग्देल, एनआरएनए अष्ट्रेलियाका सचिव कल्याण खड्का, समाजसेवी रञ्जु वाग्ले, एनआरएनए कोषाध्यक्ष निजन चौलागाईं लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्दै नेपाल न्युज अष्ट्रेलियाले प्रवासमा नेपाली समुदायको आवाज बनेको उल्लेख गरे। कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले पनि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन नेपाल न्युज अष्ट्रेलियाका म्यानेजिङ एडिटर हेमन्त काफ्लेले गरेका थिए। कार्यक्रमका अवसरमा विभिन्न नेपाली व्यवसायी तथा सञ्चारकर्मीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।