सिड्नी । विश्वभर फैलिएका नेपाली उद्यमी, पेशेवर, लगानीकर्ता र नवप्रवर्तकहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित NRNA Australia ले आयोजना गरेको ‘National Entrepreneur Conference 2026’ भोलि, ९ मे २०२६, Hyatt Regency Sydney मा हुँदैछ। बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुने सम्मेलनको मूल नाराः Connect – Inspire – Grow रहेको छ। सम्मेलनमा उद्यम, लगानी, अर्थतन्त्र, व्यक्तिगत ब्रान्डिङ, जोखिम व्यवस्थापन तथा महिला उद्यमशीलतासम्बन्धी विषयमा अन्तर्राष्ट्रिय स्तरका वक्ताहरूले अनुभव र व्यवहारिक ज्ञान साझा गर्नेछन्।
नेपालका चर्चित बैंकर तथा उद्यम नेतृत्वकर्ता Anil Keshary Shah ले “From Remittance to Investment: Unlocking Diaspora Capital for Economic Growth” विषयमा डायस्पोराबाट आउने रेमिटेन्सलाई उत्पादक लगानीमा रूपान्तरण गर्ने सम्भावनाबारे प्रस्तुति दिनेछन्। अष्ट्रेलियाकी सञ्चार विज्ञ Olympia Kwitowski ले व्यक्तिगत ब्रान्ड निर्माण, प्रभावकारी प्रस्तुति र आफ्नै कथा सशक्त ढंगले प्रस्तुत गर्ने सीपबारे अन्तरक्रियात्मक सत्र सञ्चालन गर्नेछिन्। जोखिम व्यवस्थापनका अन्तर्राष्ट्रिय विज्ञ Enrico Pecora ले व्यवसाय र परियोजनामा आउने जोखिमलाई कसरी न्यून गर्दै प्रतिस्पर्धात्मक लाभ बढाउने भन्ने विषयमा व्यावहारिक प्रशिक्षण दिनेछन्।
सम्मेलनअन्तर्गत अर्थतन्त्र, ब्याजदर र व्यवसायिक यथार्थका विषयमा विशेष प्यानल सत्र पनि रहनेछ, जहाँ Atom Go Tian, Dr Kiran Thapa र Craig Betalli ले SMEs का लागि २०२६ को आर्थिक परिवेश कस्तो रहनेछ भन्नेबारे छलफल गर्नेछन्। त्यसैगरी, महिला उद्यमीहरूको सफलता कथा र नेतृत्व विषयक प्यानलमा Sabina Silwal, Sujata Chalise र Shristi Shah ले आफ्नो अनुभव साझा गर्नेछन्।
कार्यक्रममा प्यानल छलफल, प्रश्नोत्तर सत्र, किबोर्ड प्रस्तुति तथा व्यापक नेटवर्किङ अवसरहरू उपलब्ध गराइनेछन्, जसले सहभागीहरूबीच सहकार्य, साझेदारी र लगानी सम्भावनाबारे प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्ने आयोजकको विश्वास छ।
,NRNA अष्ट्रेलियाका अध्यक्ष सन्तोष कुवरले सम्मेलन डायस्पोरामा रहेका नेपालीहरूको सीप, अनुभव र वित्तीय सामर्थ्यलाई संरचित संवाद र सहकार्यमार्फत दीर्घकालीन आर्थिक योगदानमा रूपान्तरण गर्ने महत्वपूर्ण प्रयास भएको बताए। यसले अन्तरदेशीय साझेदारी, ज्ञान हस्तान्तरण र लगानी सहकार्यका ठोस आधार निर्माण गर्ने अपेक्षा गरिएको उनले उल्लेख गरे।
यसैगरी, कोषाध्यक्ष निजन चौलागाईंले सम्मेलन नेपाली पेशेवर र उद्यमी समुदायबीच सञ्जाल विस्तार, अनुभव आदान–प्रदान र सहकार्य अभिवृद्धि गर्ने प्रभावकारी मञ्च बन्ने विश्वास व्यक्त गरे।
क्याटरिङ र सिट व्यवस्थापनका कारण अग्रिम दर्ता गरेका सहभागीलाई समयमै उपस्थित हुन आयोजकले अनुरोध गरेको छ। सम्मेलन स्थलमा बिहानैदेखि दर्ता प्रक्रिया सुरु हुनेछ।