सिड्नी । अष्ट्रेलियामा रहेका फेडेरेशन अफ नेप्लिज कम्युनिटी एसोसिएसन (फेन्का) आवद्ध सामाजिक संघ–संस्थाले आगामी ३० मे मा अन्तर्राष्ट्रिय एभरेष्ट डे मनाउने भएका छन्।
कार्यक्रमलाई न्यू साउथ वेल्सस्थित नेपालको वाणिज्य दूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) राज्य समन्वय परिषद् न्यू साउथ वेल्स तथा विभिन्न व्यवसायिक संस्थाले सहकार्य गरेका छन्।
फेन्काका अध्यक्ष डा. मधु पुडासैनीले विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा रहेको तथ्यसँगै नेपालको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए।
उनले माउन्ट एभरेष्टको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र त्यसले मुलुकको आर्थिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
“पग्लँदैछ हिउँ, बढ्दैछ हाम्रो जिम्मेवारी” भन्ने नारासहित आयोजना हुने कार्यक्रममा नेपाली कला, संस्कृति र पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुति समावेश गरिने आयोजकले जनाएका छन्।
फेन्काका उपाध्यक्ष एवं कार्यक्रमका मूल संयोजक कपिल पाण्डेले अष्ट्रेलियाका आठवटै राज्यमा ३० मेकै दिन विभिन्न संघ–संस्थाको सहकार्यमा एकसाथ एभरेष्ट डे मनाइने बताए।
एनआरएनए न्यू साउथ वेल्सका स्टेट कोअर्डिनेटर मुक्तिराम पोखरेलले सिड्नीको फाइभ डकमा बिहान ९:३० बजेदेखि कार्यक्रम सुरु हुने जानकारी दिए। उनका अनुसार कार्यक्रममा नेपाली भेषभूषा, कला, संस्कृति तथा नेपालको पर्यटन प्रवर्द्धन झल्कने विविध प्रस्तुति रहनेछन्।
विदेशमा रहेर पनि नेपाली समुदायले नेपालको पर्यटन, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले कार्यक्रममा सामुदायिक अगुवा, संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालालाई सहभागी हुन आग्रह गरे।