नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीको Taronga Zoo मा चार वर्षीय ‘हरि’ आकर्षणको केन्द्र: एकसिँगे गैडामार्फत संरक्षण सन्देश र नेपाली समुदायको भावनात्मक जोड

सिड्नी। सिड्नीस्थित प्रसिद्ध Taronga Zoo Sydney मा नयाँ पाहुनाका रूपमा भित्रिएको चार वर्षीय एकसिँगे गैडा ‘हरि’ छोटो समयमै आगन्तुकहरूको मुख्य आकर्षण बनेको छ। जू प्रशासन र सिड्नीस्थित नेपाली वाणिज्यदूतावासको सहकार्यमा आइतवार ‘हरि’को आगमनलाई विशेष कार्यक्रमका साथ स्वागत गरिएको थियो, जसमा नेपाली समुदायको उल्लेख्य उपस्थिति देखियो।IMG_5061-1777887037.jpeg

चिडियाखानाका हेरचाहकर्ताका अनुसार ‘हरि’ आफ्नो नयाँ वासस्थानमा सहज रूपमा घुलमिल भइरहेको छ। सुरक्षित र प्राकृतिक वातावरण मिलाइएको आवासमा उसले अनुकूल व्यवहार देखाइरहेको जूले जनाएको छ। ‘हरि’लाई अवलोकन गर्न आउने आगन्तुकहरूको संख्या उल्लेखनीय रहेको र यसले बालबालिकादेखि वयस्कसम्म सबैको ध्यान खिचिरहेको बताइएको छ।

‘हरि’लाई गत डिसेम्बरमा Taronga Western Plains Zoo बाट सिड्नी स्थानान्तरण गरिएको हो। आमा अमला र बुवा डोराबाट जन्मिएको ‘हरि’ अष्ट्रेलियामा सञ्चालन भइरहेको एकसिँगे गैडाको संरक्षण तथा प्रजनन कार्यक्रमको महत्वपूर्ण कडी मानिन्छ। अमला सन् २००६ मा अमेरिकामा जन्मिएर २००९ मा अष्ट्रेलिया ल्याइएकी थिइन् भने डोरालाई सन् २००३ मा जापानबाट अष्ट्रेलिया ल्याइएको थियो।IMG_5063-1777887137.jpeg

विश्वमै लोपोन्मुख प्रजातिका रूपमा रहेका एकसिँगे गैडाको संरक्षण र जनचेतनाका लागि ‘हरि’को उपस्थितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास जू प्रशासनले व्यक्त गरेको छ। आगन्तुकहरूलाई ‘हरि’मार्फत यस प्रजातिको प्राकृतिक बासस्थान, संरक्षण चुनौती र अन्तर्राष्ट्रिय सहकार्यबारे जानकारी प्रदान गरिँदै आएको छ।

स्वागत कार्यक्रममा सहभागी सिड्नीस्थित नेपाली वाणिज्यदूतावासका कन्सुलर सञ्जिव शर्माले एकसिँगे गैडा नेपालको जैविक विविधता र राष्ट्रिय पहिचानको प्रतीक भएको उल्लेख गरे। शर्माले भने, “एकसिँगे गैडा नेपालीहरूको प्राकृतिक सम्पदासँग प्रत्यक्ष जोडिएको जीवित प्रतीक हो। सिड्नीमा ‘हरि’को उपस्थिति यहाँको नेपाली समुदायलाई मातृभूमिसँग भावनात्मक रूपमा नजिक ल्याउने माध्यम बनेको छ। साथै, यसले अष्ट्रेलियाली समाजमा नेपालको जैविक विविधताबारे जनचेतना फैलाउन मद्दत पुग्नेछ।”IMG_5062-1777887167.jpeg

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी, समुदायका प्रतिनिधि तथा चिडियाखानाका अधिकारीहरूको सहभागिता थियो। सहभागीहरूले ‘हरि’को अवलोकनसँगै एकसिँगे गैडाको संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्